क्रान्तिकारीकाे अध्यक्षमा रञ्जित तामाङ विजयी

प्रचण्ड नेतृत्वमा रहेकाे नेकपा (माओवादी केन्द्र)काे विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को २१ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन्। अर्का प्रत्यासी अनिल शर्मालाई हराएर तामाङ अध्यक्ष पदमा विजयी भएका हुन्। यसअघि तामाङ उपाध्यक्ष थिए भने शर्मा महासचिव थिए। कीर्तिपुरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट तामाङले शर्मालार्इ जम्मा २३ मतकाे अन्तरले पराजित गरेका हुन् । तामाङले ८ सय ४५ मत पाए भने शर्माले ८ सय २२ मत प्राप्त गरेका छन् । 

क्रान्तिकारीकाे इतिहासमा पहिलोपटक निर्वाचनबाट नेतृत्व चयन गरिएको हो। यसअघि पार्टीले सर्वसम्मत बनाएर साझै केन्द्रीय समितिकाे प्यानल प्रस्ताव गरेर नेतृत्व छान्ने गरिन्थ्याे । भदाै ७ गतेदेखि क्रान्तिकारीकाे सम्मेलन सुरु भएकाे थियाे ।

मतगणनाबाट खुल्ला उपाध्यक्षहरुमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दिपक देवकोटा र विजय गौतम विजयी भएका छन् । त्यसैगरी महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दिपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव विजयी भएका छन्।

स‌गठनकाे महासचिवमा उत्तम अधिकारी विजयी भएका छन् । उनले खेमबहादुर सिंहलाई पराजित गर्दै विजयी भएका हुन्।

त्यस्तै उपमहासचिव जीपी मैनाली, तुकमान महरा निर्वाचित भएका छन्। आशा तमु यसअघि नै महिला कोटाबाट निर्विरोध उपमहासचिव चुनिएकी थिइन्। कोषाध्यक्षमा केशव रावल विजयी भएका छन्।

खुला सचिवमा डीबी साउद र नरेश रेग्मी तथा महिला सचिवमा गंगा दाहाल विजयी भएका छन्। विभिन्न क्लष्टरहरुबाट अखिल क्रान्तिकारीका १६ जना सचिव चुनिएका छन्।

यसैबीच अध्यक्ष पदका प्रत्यासी अनिल शर्माले तामाङलार्इ बधार्इ दिएका छन् । रञ्जित तामाङले आफूलाई अब्बल सावित गरेको बताउँदै शर्माले बधार्इ दिएका हुन् । मत गणना सम्पन्न भएलगत्तै शर्माले शनिबार बिहान आफ्नो फेसबुक पेजमा यस्ताे सन्देश दिएका हुन् । उनले लेखेका छन्, ‘बधाई छ मित्र रञ्जित तामाङलाई जसले आफूलाई अब्बल सावित गरे ।’

आफू र तामाङ सँगै बसेको तस्वीरसहित शर्माले उक्त पोष्ट गरेका छन् । यसलार्इ उनकाे राम्राे राजनीतिक संस्कार मानिएकाे छ ।

Loading...