पोखरा विश्वविद्यालयमा नमूना युवा संसद्

पोखरा, ८ भदौ । पोखरा विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय र टोनी हागन फाउण्डेशन, काठमाडौँको संयुक्त आयोजनामा पोखरा विश्वविद्यालयमा एक दिवसीय नमूना युवा संसद् अभ्यास गरिएको छ ।गण्डकी प्रदेशका लागि प्रभावकारी पर्यटन नीति र कार्यक्रमहरूमा संसदीय प्रस्ताव विषयक नमूना संसद्मा पोखरा क्षेत्रका ११ महाविद्यालय तथा कलेजमा अध्ययनरत ३२ महिला र २४ पुरुष गरी जम्मा ५६ स्नातक तहका विद्यार्थीको सहभागिता थियो ।

विद्यार्थीलाई प्रजातान्त्रिक प्रणालीअनुसार संसद्मा हुने संसदीय काम कारवाहीका विषय र पद्दतिका सम्बन्धमा यही भदौ ६ गते नेपाल संसद्का पूर्वसचिव तोयानाथ भट्टराई र पूर्वसांसद फटिक थापाले एक दिवसीय अभिमुखीकरण तालीम दिएको थियो । सोही तालीमका आधारमा विद्यार्थीले संसद्मा हुने र सञ्चालन गरिने पद्दतिका विषयमा विभिन्न भूमिका निर्वाह गरेका थिए ।

नमूना संसद्मा विद्यार्थीले ज्येष्ठ सांसद, सभामुख, पर्यटनमन्त्री, प्रमुख विपक्षी दलका नेता, सत्तापक्षका सचेतक, विपक्षी दलका सचेतक, सचिवालय सदस्य, वक्ता, मर्यादापालकजस्ता खास–खास पदको भूमिका निभाएका थिए । कार्यक्रममा प्रस्ताव दर्ता गर्ने, तिनको छनोट गर्ने, सभामुखबाट स्वीकृति प्रदान गर्ने, प्रस्तावको समर्थन र विरोध, अन्य पदाधिकारी छनोटका साथै सङ्कल्प प्रस्ताव पारित गर्न नमूना युवा संसद्मा मतदानसमेत गरिएको थियो ।

कार्यक्रममा टोनी हागन फाउण्डेशनका तर्फबाट फाउण्डेशनका अध्यक्ष प्रा डा प्रमोदकुमार झाले आगामी दिनमा यस्तो कार्यक्रमका लागि प्राविधिक सहयोग गर्न सकिने बताए । पोखरा विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्रा डा इन्द्रप्रसाद तिवारीले गण्डकी प्रदेशका विभिन्न महाविद्यालय तथा क्याम्पससँग सहकार्य गरी नमूना युवा संसद् सञ्चालन गर्न सकिने बताए । कार्यक्रमको अन्त्यमा टोनी हागनले नेपालका विभिन्न स्थानमा अध्ययन भ्रमणका क्रममा सङ्कलित सामग्रीका आधारमा बनाइएको ‘उहिलेको नेपाल’ नामक वृत्तचित्र देखाइएको थियो ।

कार्यक्रममा प्रा डा कृष्ण पौडेल र वसन्त थापाले नेपालका लागि टोनी हागनले गरेका महत्वपूर्ण योगदानको बारेमा समेत चर्चा गरे । फाउण्डेशनका तर्फबाट अध्यक्ष झाले टोनी हागनको केही प्रसिद्ध पुस्तक पोखरा विश्वविद्यालयलाई हस्तान्तरण गरे। सो अवसरमा नमूना संसद्मा सहभागी विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

Loading...