बसीरको मुद्दामाथि अर्को सुनुवाइ आगामी शनिबार हुने : सुडान

एजेन्सी । सुडानको एक अदालतले पूर्वराष्ट्रपति ओमार अल–बसीरमाथि लागेको भ्रष्टाचार आरोपबारेमा अर्को सुनुवाइ आगामी शनिबार गर्नेगरी तय गरेको छ ।

“पूर्वराष्ट्रपति बसीरको भ्रष्टाचार आरोपबारेमा अर्को चरणको सुनुवाइ अगस्ट ३१ (शनिबार) हुनेगरी तोकेको छ,” बसीरको पक्षमा वकालत गर्ने वकिलहरूको समूहका प्रमुख अहमद इब्राहिम अल–ताहिरले राजधानी खार्तुममा भएको पत्रकारसँगको कुराकानीमा बताए । “यो बसीरको मुद्दामा हुने तेस्रो चरणको सुनुवाई हो र हामी अझैपनि पैरवी मुद्दामा छौँ । जहाँ अभियोजनकर्ताका प्रतिनिधिले तीन सहयोगीमाथिको सोधपुछ जारी रहेको छ ।”

अल ताहिरले भने, “बसिरको पक्षका वकिलहरूको समूहले अल–बसीरलाई धरौटीमा रिहा गर्न अनुरोध गरिरहेका छन् । उनीहरू न्यायाधीशले बसीरलाई धरौटीमा रिहा गर्नेमा विश्वस्त रहेका छन् ।” सुडानमा बढ्दो महङ्गी, भ्रष्टाचार, र आर्थिक अनियमितता नियन्त्रण गर्न नसकेको भन्दै सुडानी जनताले लामो समयसम्म सशक्त आन्दोलन गरेपछि सेनाको सहयोगमा बसीरलाई गत अप्रिलमा पदच्युत गरिएको थियो ।

बसीरलाई पदच्युत गरिएपछि गैरकानूनी रूपमा उनको घरमा राखिएको करीब ११ करोड ३० लाख अमेरिकी डलर जफत गरी मुद्दा अघि बढाइएको छ । उहाँमाथि पदीय मर्यादा विपरीत भ्रष्टाचार गरेको र आर्थिक अनियमिततम गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अदालतमा परेको मुद्दामाथि दुई चरणमा सुनुवाइ भइसकेको छ ।