शिक्षक बन्न अब परीक्षामा ५० अंक ल्याउनुपर्ने

काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्न अब ५० प्रतिशत अंक ल्याउनुपर्ने भएको छ । यस अघि ४० अंक ल्याउने उत्तीर्ण हुने व्यवस्था थियो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षक सेवा आयोग नियमावली १० औँ संशोधन गर्दै शिक्षकको उत्तीर्णांक परिवर्तन गरेको बताए ।

शिक्षक प्रतिस्पर्धा बढाउन र योग्य र सक्षम शिक्षक छनोट गर्न यसो गरिएको मन्त्री पोखरेलले बताए ।

शनिवार दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनको उद्घाटन गर्दै मन्त्री पोखरेलले शिक्षक पदका लागि लिइने लिखित परीक्षा अब दुई सय पूर्णाँकको हुने र एक सय पूर्णांकको को सामान्य परीक्षा उत्तीर्ण गरेपछिमात्र अर्को एक सय पूर्णांकको विषयगत परीक्षा लिइने बताए ।

सामान्य परीक्षामा ५० अंक ल्याउने मात्रै उत्तीर्ण हुने र उत्तीर्ण भएपछि मात्रै अर्को विषयगत परीक्षामा सहभागी हुन पाउने उनको भनाइ थियो ।

अब परीक्षा पनि दुईथरीको हुनेछ भने उत्तीर्णांक पनि बढेको छ । यसले उच्च प्रतिस्पर्धा बढाइ योग्य र सक्षम शिक्षकहरु छनोट हुन मद्दत मिल्नेछ ।– मन्त्री पोखरेलले भने ।

यसैगरी, शिक्षक परीक्षामा पहिलो वस्तुगत प्रश्नको उत्तरपुस्तिका ओएमआर मेसिनले परिक्षण गर्ने, अन्तवार्तामा अनुभवका लागि बढीमा १० अंक प्रदान गरिने, न्यूनतम शैक्षिक योग्यताका लागि उत्तीर्ण श्रेणीका आधारमा ३ अंक दिइने पोखरेलले जानकारी दिए ।

Loading...