पतिको हत्या गराउन सुपारी दिएकी पत्नीलाई खोज्दै प्रहरी

बलिउड सिनेमाकै शैलीमा मान्छे मार्न सुपारी दिने कुराले पछिल्लो समयमा समाजलाई नराम्ररी सताएको छ । भक्तपुरमा एक छोरीले आफ्नै आमालाई यसरी नै हत्या गराएको कुरा सेलाउन नपाउदै महोत्तरीमा यस्तै एक घटना बाहिर आएको छ ।

महोत्तरीकी एक महिलाले आफ्नै श्रीमानको हत्या गराउन पेशेवर अपराधी लाई सुपारी दिएको अनुसन्धान बाट खुलेको हो । उनले साढे ४ लाख रुपैयाँ दिएर लोग्नेको हत्या गराएको खुलेको प्रहरीको दावी छ ।

महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडाका ३६ बर्षीय सरोज भनिने श्रवण थापाको हत्याका लागि श्रीमती पूजाले पेशेवर अपराधीको प्रयोग गरेको खुलेको प्रहरीले जनाएको हो ।

हत्या गरेको अवस्थामा गत असार ३१ गते श्रवणको शव भेटिएको थियो । बीपी राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका–३ मा शव फेला परेको थियो ।

श्रवणको हत्या अनुसन्धानमा जुटेको प्रहरीले उनको हत्यामा आफ्नै पत्नीको हात भएको पत्ता लगाएको हो । शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रहरीले उक्त कुरा सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा महोत्तरीका प्रहरी प्रमुख रहेका एसपी श्यामकृष्ण अधिकारीले श्रवणको श्रीमती पूजाले नै श्रवणको हत्या गराएको खुलेको जानकारी दिए ।

श्रवणको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । सर्लाहीको धनकौल गाउँपालिका ३ हरकटवाका २७ बर्षीय प्रमोद सिंह, वडा नम्बर २ का २७ बर्षीय मुकेश साह, रौतहटको गढीमाई नगरपालिका ६ बखरी टोलका ३३ बर्षीय श्रीनारायण महरा र ४६ बर्षीय टिआई सहनीलाई शुक्रबार सार्वजनिक गरिएको छ । मूख्य अभियुक्त पूजा भने फरार छिन । उनको खोजी भैरहेको प्रहरीको भनाइ छ ।

Loading...