अायाेगको अादेश अटेरी गर्दै यसरी गरियो रातारात २५० कर्मचारीको सरुवा

काठमाडाैं, १६ । कर्मचारीकाे सरूवा नगर्न निर्वाचन अायाेगले गरेकाे निर्देशन विपरित सरकारले रातारात ठूलाे सङ्ख्यामा कर्मचारीकाे सरुवा गरेकाे छ । रातारात २ सय ५० भन्दा बढी कर्मचारी एकैसाथ कर्मचारी सरुवा भएपछि त्यसकाे व्यापक विराेध भएकाे छ ।

नियमविपरीत एकतर्फी रूपमा कर्मचारी सरुवा गरेको भन्दै आधिकारिक ट्रेड युनियनलगायत कर्मचारीसम्बद्ध विभिन्न संगठन विरोधमा उत्रिएपछि तनाव भएको हो। प्रहरीले दिनभर मन्त्रालयमा सुरक्षा दिएको थियो। निर्वाचन आयोगले बिहीबारदेखि आचारसंहिता लागू गर्ने घोषणा गरेपछि मन्त्रालयले रातारात कर्मचारी सरुवा गरेको थियो।

मन्त्रालयले राजपत्रांकिततर्फ ९४ उपसचिव र ३५ अधिकृत गरी एक सय २९ तथा राजपत्रअनंकित (खरिदार, नायवसुब्बा र कार्यालय सहयोगी) गरी झन्डै एक सय ४० कर्मचारी सरुवा गरेको हो। मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले बिहीबार दिउँसोसम्म पनि सरुवाको पूर्ण विवरण पाउन सकेका थिएनन् । सचिव सापकोटाले राजपत्रांकिततर्फ उपसचिव र शाखा अधिकृत गरी एक सय २९ जनाको सरुवा भएको पुष्टि गरे पनि राजपत्रअनंकिततर्फ के-कति सरुवा भयो भन्ने जानकारी नभएको बताए।

‘खरिदार, सुब्बाहरू अत्यावश्यक भएका ठाउँमा मात्र न्यून रूपमा सरुवा गर्ने भन्ने सहमति भएको थियो तर धेरै संख्यामा सरुवा गरेको देखियो’, उनले अन्नपूर्णसँग भने, ‘जुन गलत छ।’

उनले राजपत्रअनंकित तहको सरुवाबारे छानबिन गर्ने बताए। ‘सरुवामा केही बेथिति देखिएको छ, यस विषयमा गम्भीरतापूर्वक छानबिन गर्छु’, उनले भने’, गलत पाए करेक्सन गर्छु।’

सरुवाका बेला मन्त्री टेकबहादुर बस्नेत र सचिव सापकोटा भने मन्त्रालयमा थिएनन्। कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव बलराम रिजालको नेतृत्वमा कर्मचारी सरुवा भएको थियो। रिजाल नेतृत्वमा उपसचिव वसन्तप्रसाद पन्थी तथा शाखा अधिकृतहरू रामप्रसाद लुइँटेल र जितेन्द्रकुमार यादवको समूहले सरुवाको चाँजोपाँचो मिलाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

उनीहरू बिहीबार दिनभर सम्पर्कविहीन थिए। मन्त्रालयले ९४ उपसचिव र ३५ अधिकृत गरी एक सय २९ जनालाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत स्थानीय तहमा पठाएको हो।

नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष तथा आधिकारिक ट्रेड युनियनका सदस्य लेखनाथ कोइराला, संगठनका महासचिव रेवन्त गौतम र नेपाल निजामती कर्मचारी युनियन (संघ)का जितबहादुर मडै नेतृत्वको टोलीले मन्त्री बस्नेत र सचिव सापकोटालाई भेटी सरुवा खारेज गर्न माग गरेको छ। उनीहरूले मन्त्रालयबाहिर बसेर सरुवा भएको, सरुवा रजिस्टरसमेत लुकाएको, सहसचिव तथा उपसचिव बेपत्ता भएको भन्दै सरुवा बदरको माग गरेका हुन्।

मन्त्रालयले ठूलो संख्यामा सरुवा गरे पनि ११ पटक वैशाखीको सहारामा सरुवाका लागि सिंहदबार धाएका खरिदार शंकर ढुंगेल भने परेनन्। उनी बिहीबार पनि वैशाखी टेकेरै मन्त्रालय आएका थिए। उनी आफ्नो सरुवा नभएकोमा खिन्न देखिन्थे। उनले गोकुलगंगा गाउँपालिकाबाट घरपायक पर्ने सर्लाहीको मलंगवामा सरुवा मागेका रहेछन्।

Loading...