प्रहरीमाथि हातपात गरिएको विमानस्थल घटनाको पूरै छानविन गर्न निर्देशन, पारसले माफी माग्दै देखाए अझै आक्रोश

काठमाडाैं । त्रिभुवन विमानस्थलमा कार्यरत एक प्रहरी अधिकृतमाथि पूर्वयुवराज पारस शाहले गरेकाे दुर्व्यवहारबारे प्रहरीले छानविन थालेकाे छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले घटना के कसरी भएको हो त्यसबारे विस्तृत छानविन गरी प्रतिवेदन दिन विमानस्थल प्रहरीलाई निर्देशन दिएकाे हाे ।

प्रहरी नायब महानिरीक्षक शैलेश थापाले आइतबार पूर्वरानी कोमल शाहको थाइल्याण्ड प्रस्थानका क्रममा पूर्वयुवराज शाहले प्रहरीमाथि के कस्तो व्यवहार गरेको हो? विस्तृत रुपमा छानविन गरी प्रतिवेदन दिन विमानस्थल प्रहरीलाई निर्देशन दिएको जानकारी दिएका छन।

पारसले प्रहरीमाथि हातपात गरेकाे समाचार र भिडिओ बाहिर अाएकाेले साे विषयमा विस्तृत अनुसन्धान प्रतिवेदन तयार गर्न लागेकाे हाे । आइतबार पूर्वरानी कोमललाई पुर्‍याउन विमानस्थल पुगेका पूर्वयुवराज शाहले सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई धकेलेका थिए। सो घटनाका पीडित खत्रीले प्रहरीमा रिपोर्ट दिएका छैनन्।

तथापि, प्रहरी कर्मचारीमाथि दुर्व्यवहार भएको विषयमा कारबाही नभएको भन्दै सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि प्रहरीले छानविन थालेको जनाएको हो।

यसैबीच उक्त घटनाबारे पारस शाहले माफी मागेका छन् । सोमबार नै पारसले सामाजिक सञ्जाल फेसबुकमार्फत क्षमा मागेका हुन् । सोमबार राति करिब १ बजेतिर उनले अंग्रेजी भाषामा स्टाटस लेख्दै माफी मागेका छन । फेसबुक स्टाटसमा उनले आफ्नी आमा बायोप्सीका लागि बैंकक जान लागेको, त्यो बेला आफू दुःखी भएकाले प्रहरीप्रति त्यस्तो व्यवहार हुन पुगेको उल्लेख गरेका छन् ।

फेसबुकमा उनले त्यसका लागि सम्बद्ध पक्षसँग ‘क्षमायाचना गर्न चाहन्छु’ भन्दै आफ्नो ठाउँमा जुनुसुकै नेपाली बाबु भए पनि त्यसै गर्थे समेत भनेका छन् । यसले उनी अझै अाफ्नाे कुरामा अडिग र अाक्राेशित छन भन्ने देखाउँछ । फेसबुकमा उनले याे घटनाकाे बाँकी कुरा निर्णयका लागि नेपाली जनतालाई नै छाड्ने पिन उल्लेख गरेका छन् ।

पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा खटिएका बर्दीमा रहेका प्रहरी नायब निरीक्षकलाई सार्वजनिकस्थलमै छातीमा धक्का दिएर दुर्व्यवहार गरेका थिए । पारसले ड्युटीमा रहेका प्रहरमाथि हातपात गरेको भन्दै पारसलाई कारबाही गर्न माग गरिएको थियो । यस विषयमा प्रहरीले छानबिन थालेको जनाएको छ ।