विभिन्न सामुदायिक वनमा तेजपात

दमौली, २ भदौ । तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित विभिन्न सामुदायिक वनमा तेजपात दालचिनी का बिरुवा रोपन गरिएको छ । सामुदायिक वनलाई तेजपातको पकेट क्षेत्र बनाउने उद्देश्यले डिभिजन वन कार्यालय तनहुँको सहयोगमा चार सामुदायिक वनमा तेजपातको बिरुवा रोपन गरिएको हो ।

उत्तर फर्केका तथा चिसो हावापानी भएको क्षेत्रमा अन्य बिरुवाभन्दा तेजपातको राम्रो सम्भावना भएकाले मल्याङ, कवादी सालडाँडा, धुसेनी र बसनखन्डी सामुदायिक वनमा ३४ हजार ४०० तेजपातको बिरुवा रोपन गरिएको डिभिजन वन प्रमुख केदार बरालले बताए ।

अनावश्यक झाडी भएको क्षेत्रको सदुपयोग गरी कम लगानी, थोरै मेहनत र छोटो अवधिमा सामुदायिक वनले राम्रो आम्दानी लिनसक्ने भएकाले खाली क्षेत्रमा तेजपात रोपेर पकेट क्षेत्र बनाउन लागिएको उनले जानकारी दिए ।

सहायक वन अधिकृत मनोज रानाभाटका अनुसार बसनखन्डी सामुदायिक वनको चार हेक्टरमा छ हजार ४००, मल्याङ सामुदायिक वनको १० हेक्टरमा ११ हजार, साल्डाँडा धुसेनीमा १२ हजार र कवादी सामुदायिक वनको तीन हेक्टरमा पाँच हजार तेजपातको बिरुवा रोपिएको छ ।

डिभिजन वन कार्यालयको सहयोग र उपभोक्ताको सहभागितामा तेजपातको बिरुवा रोपिएकाले उक्त बिरुवा गोडमेल र संरक्षणको जिम्मेवारी उपभोक्ताको रहेको मल्याङ सामुदायिक वन समूहका अध्यक्ष खडनन्द पौडेलले बताउनुभयो । उनका अनुसार रोपिएकामध्ये ९० प्रतिशत बिरुवा जोगिएको छ ।

तेजपातको उचित संरक्षण र सम्वद्र्धन गरी यसबाट हुने आम्दानी चारवटै सामुदायिक वनले शतप्रतिशत उपभोग गर्न पाउने डिभिजन वन कार्यालयका प्रमुख बरालले बताए। डिभिजन वन कार्यालयले आफ्नै नर्सरीमा तयार गरेको बिरुवाको बजार मूल्य प्रतिबिरुवा रु १० पर्ने भए पनि ती सामुदायिक वनलाई निःशुल्करूपमा बिरुवा उपलब्ध गराइएको थियो ।

उनका अनुसार रोपेको पाँचौँ वर्षबाट नै उत्पादन दिन सक्ने तेजपातको बजार भाउ पनि राम्रो रहेको छ । व्यावसायिकरूपमा तेजपात खेती गर्नसके स्वदेश तथा विदेशका विभिन्न जडीबुटी कम्पनी तथा मसला कम्पनीमा यसको उच्च माग छ ।

तेजपातको बोक्रा र पात मसलाका रुपमा घरायसी प्रयोजनका लागि उपयोगी मानिन्छ । तेजपातलाई तरकारी, मासु, पुलाउ आदिमा स्वाद र बास्नाका लागि प्रयोग गर्ने गरिन्छ । साथै पातबाट निकालिएको सुगन्धित तेल औषधि, खाद्य पदार्थ र पेय पदार्थलाई बासनादार बनाउन प्रयोगसमेत गरिन्छ । पात खाना पचाउन, पेटको दुखाई कम गर्न, आउँ परेको वाकवाक लाग्ने अवस्था रोक्न तथा यसको तेल दाँत दुखेको औषधिका रुपमा पनि प्रयोग गरिन्छ ।