राजधानीमा दुर्गन्धै दुर्गन्ध

काठमाडाैं, १४ भदाै । उपत्यकाका नगर क्षेत्रमा दुई सातादेखि नियमित फोहोर संकलन हुन छाडेपछि दुर्गन्ध फैलिन थालेको छ । ललितपुर महानगरपालिकाले ल्यान्डफिल्ड साइट नुवाकोटको ओखरपौवा सिसडोल पुग्ने बाटोमा पहिरो र सडक बिग्रिएकाले स्थानीयवासीले कालोपत्रे गर्नुपर्ने भन्दै अवरोध खडा गरेकाले फोहोरमैला संकलन गर्न नसकिएको जनाएको छ ।

ललितपुर महानगरपालिकाका अनुसार वर्षाले ल्यान्डफिल्ड साइट पुग्ने रानीवन नागार्जुनदेखि मुडु–देवीस्थान–आठ माइल–तीनपिप्ले–कोट (भत्केपाटी) हुँदै सिसडोलसम्मको सडकमा पहिरो झरेको छ । यसले गर्दा साउन २६ देखि नगरमा नियमित फोहोरमैला संकलन हुन नसकेको जानकारी ललितपुर महानगरपालिका सिनियर अफिसर सुरेन्द्रराज अवालेले दिए ।

स्थानीयवासीसित आइतबार मौखिक सहमति हुनै लागेको बेलामा फोहोरमा राजनीति गर्ने केही गिरोहले अनावश्यक अवरोध खडा गरेको आरोप महानगरपालिकाको छ । ‘बुधबारदेखि सिसडोलमा फोहोर लैजान १ सय ५० वटा गाडी लाइनमा रहे पनि गिरोहले गर्दा लैजान सकिएन,’ उनले भने, ‘ल्यान्डफिल्ड साइट पुगिसकेका ३ वटा ट्रिपरसमेत तोडफोड हुने डरले काठमाडौं फर्केन सकेका छैनन् ।’ समस्याको दीर्घकालीन तथा वैकल्पिक व्यवस्थापनका लागि पहल भइरहेको जानकारी ललितपुर महानगरपालिका प्रवक्ता राजु महर्जनले दिए । ‘केही समयका लागि फोहोरमैलाको व्यवस्थापन गर्न सम्भव नभएकाले नगरवासीहरूलाई अस्थायी रूपमा आफ्नो प्रयासबाट स्थानीय घर, अफिस कम्पाउन्डभित्रै अल्पकालीन व्यवस्थापन गरी सहयोग गरिदिनु अनुरोध छ,’ महानगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अहिले ललितपुरको बालकुमारीमा फोहोर थुप्रिँदा त्यहाँ वरिपरि अत्यधिक दुर्गन्ध फैलिन थालेको छ । स्थानीयवासी दुर्गन्धले हैरान छन् । स्थानीय हीराकाजी महर्जनले दुर्गन्धले बालबालिका बिरामी पर्न सक्ने चिन्ता व्यक्त गरे ।

Loading...