बगनासकालीलाई खरको छानोरहित बनाइँदै

बेझाड, ३२ साउन । पाल्पाको बगनासकाली गाउँपालिकालाई अबको चार महीनाभित्र खरको छानोरहित गाउँपालिका बनाइँदैछ । गाउँपालिका भित्रका खरका छाना भएका सबै घरमा जस्तापाता लगाउने काम सम्पन्न गर्ने योजना छ ।

उक्त अभियानअन्तर्गत गाउँपालिकाका २४२ खरका छाना भएका घर जस्तापाताले छाउने काम अन्तिम चरणमा पुगेको छ । चालू आर्थिक वर्षमा १०६ घरमा जस्तापाता हाल्न गाउँपालिकाले ३९ लाख विनियोजन गरेको छ । आव २०७५÷७६ मा २५ लाखको लागतमा ८३ धरमा तथा आव २०७४÷७५ मा रु १५ लाखको लागतमा ५३ धरमा जस्तापाता लगाउने काम सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिए ।

“गाउँपालिकालाई आगामी मङ्सीरभित्रमा खरको छानोरहित बनाउन धमाधम काम अगाडि बढाइएको छ, आर्थिक अवस्था कमजोर भएकाले गाउँपालिका आफैले जस्तापाताको छानो हाल्न थालेको हो”, उनले भने । बगनासकाली गाउँपालिकालाई जिल्लाकै नमूना छानोरहित गाउँपालिका बनाइने योजना छ ।

यस्तै गाउँपालिकाले चैत मसान्तभित्र बालमैत्री गाउँपालिका घोषणा गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । बालमैत्री घोषणा कार्यक्रमका लागि समानीकरणतर्फ एक करोड बजेट प्राप्त भएको अध्यक्ष बस्यालले बताए । बालमैत्री घोषणसँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा रकम खर्च गरिनेछ । चालू आवमै घरमै सुत्केरी हुने दरलाई शून्यमा झार्दै ‘शून्य होमडेलीभरी’ घोषणा गरिने बस्यालले बताए । “असी प्रतिशत काम सम्पन्न भएको छ”, उनले भने ।

युवालाई गाउँमै स्वरोजगारको अवसर सिर्जना गर्न शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रमलाई चालू आवमा निरन्तरता दिइएको छ । स्नातक तह उत्तिर्ण गरेका युवालाई लक्ष्य गरी सञ्चालन गरिएको कार्यक्रमबाट स्थानीय युवा कृषि तथा पशुपालन व्यवसायतर्फ आकर्षित भएका छन् । दुई वर्षमा सात युवाले शैक्षिक प्रमाण पत्र धितो राखेर कृषि तथा पशुपालन व्यवसाय थालेका छन् । गाउँपालिकाले पाँच हजार किलोभन्दा बढी तरकारी उत्पादन गर्ने कृषकलाई तरकारीमा ढुवानी अनुदान रकम उपलब्ध गराउँदै आएको छ ।

स्थानीय बजारमा तरकारी बिक्री नभए अन्यत्र बजारमा लैजान ढुवानी उपलब्ध गराएको छ । गाउँपालिकाले प्रतिकिलो दुई रुपैयाँ तरकारी ढुवानीका लागी अनुदान दिँदै आएको छ । मागमा आधारित कृषकलाई अनुदान तथा विभिन्न क्षेत्रमा उत्पादनको आधारमा २० पकेट क्षेत्र घोषणा गरी सोहीअनुसारका कार्यक्रम लागू गरिएको छ । गत आवमा २२ किलोमिटर सडकको स्तरोन्नति, आठ किलोमिटर नयाँ सडकको ट्रयाक निर्माण, ५६३ मिटर सडक ढलान र खानेपानीको सहज सुविधा उपलब्ध गराउन ११ ट्याङ्की निर्माण गरिएको अध्यक्ष बस्यालले जानकारी दिए ।

गाउँपालिकाभित्र शैक्षिक गुणस्तर वृद्धि गर्न १० सामुदायिक विद्यालयमा ई हाजिरी सेवा, खानेपानी विद्युत् महसुलमा ४० प्रतिशत अनुदान, नौवटै वडामा विपद् व्यवस्थापन समिति गठन, मधुमेह, रक्तचाप र छारे रोगका लागि निःशुल्क औषधि उपचार सेवालाई निरन्तरता दिइएको छ । आधारभूत तहसम्म स्थानीय पाठ्यक्रम लागू गर्न कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम लागूगर्ने गरी काम अगाडि बढाइएको छ । गाउँपालिकाले आर्थिक विकासतर्फ ९४ लाख २० हजार, सामाजिक विकासतर्फ तीन करोड ३८ लाख, पूर्वाधार विकासतर्फ तीन करोड ६७ लाख, संस्थागत विकासतर्फ ७७ लाख ९४ हजार तथा वातावरण र विपत् व्यवस्थापनतर्फ २४ लाख ७० हजार रकम विनियोजन गरेको छ ।

Loading...