रवि लामिछाने पक्राउ

३० साउन, काठमाडौं । न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ परेका छन् । प्रहरीले बिहीवार साँझ उनीहरुलाई न्युज २४ को कार्यालयबाटै पक्राउ गरेको हो । यसको केही घण्टा अघिमात्रै प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

चितवनको एक होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चितवनको एक होटलमा मृत भेटिएका पूर्वसहकर्मी पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो सार्वजनिक भएको भोलिपल्टै प्रहरीले रवि लामिछानेलाई गिरफ्तार गरेको हो । गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए ।

पुडासैनीको सोही भिडियो वयानका आधारमा प्रहरीले रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको हो । लामिछाने, कँडेल र कार्की आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका हुन् ।

 

Loading...