बजार व्यवस्थापन गर्दै तुलसीपुर उपमहानगर

तुलसीपुर, ३० साउन । दाङको तुलसीपुर उपमहानगरपालिकाले बजार व्यवस्थापन अभियान शुरु गरेको छ । सोहीअनुसार बुधबार तुलसीपुरका सरोकारवाला निकायसँग छलफल पनि गरेको छ । उपमहानगरपालिकालाई स्मार्ट सिटी बनाउनका लागि यहाँको फुटपाथ व्यवसाय व्यवस्थापन, मदिरा व्यवस्थापन गर्न छलफल गरिदिएको हो ।

उपमहानगरपालिकाले यसअघि नै यहाँको फुटपाथ हटाउन शुरु गरेको भए पनि प्रभावकारी हुन नसकेको भन्दै थप प्रभावकारी बनाउन छलफलमार्फत निष्कर्ष निकालेर प्रभावकारी बनाइने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए । हामीले उपमहानगरपालिकालाई स्मार्ट बनाउने अभियानअन्तर्गत बजारलाई व्यवस्थित बनाउने अभियान थालेका छौँ”, उनले भने “यसअघि नै हामीले फुटपाथ हटाउन थालेका थियौँ, अब यसलाई थप प्रभावकारी बनाउनका लागि छलफल गरेका हौँ ।”

अहिले बजारमा सडक मिचेर व्यवसाय गर्दा दुर्घटनाको जोखिम बढ्नुका साथै बजार पनि कुरुप भएको भन्दै यसलाई व्यवस्थान गर्न आफूहरु लागिपरेको बताए ।तुलसीपुर उद्योग वाणिज्य सङ्घका महासचिव रुपबहादुर खत्रीले बजारलाई सुन्दर बनाउनका लागि फुटपाथ हटाउन आवश्यक रहेको भन्दै यसमा उद्योग वाणिज्य सङ्घले सहयोग गर्नेसमेत बर्ताए ।

“फुटपाथ तुलसीपुरका लागि ठूलो समस्या बनेको छ, यसले यहाँका वैधानिकरुपमा व्यवसायी गर्ने व्यवसायीलाई पनि समस्यामा पारेको छ भने बजार पनि कुरुप बनेको छ”, उनले भने, “त्यसैले सुन्दर उपमहानगर बनाउन उद्योग वाणिज्य सङ्घ हातेमालो गर्न तयार छ ।”सहकारीकर्मी सङ्गीत बस्यालले तुलसीपुर बजारलाई हर्न निषेध घोषणा गरिएको छ, तर फुटपाथले गर्दा हर्न निषेध अभियानलाई नै चुनौती बनाएको बताए ।

Loading...