हेपाटाइटिस ‘सी’विरुद्धको औषधि नेपालमै बन्याे

काठमाडौं । नेपालमा पहिलोपटक हेपाटाइटिस ‘सी’विरुद्धको औषधि उत्पादन सुरु भएको छ । म्याग्नस फर्माले पहिलोपटक हेपाटाइटिस ‘सी’ भएका बिरामीको उपचारमा प्रयोग हुने ‘सोफोसबिभिर’ औषधि ‘सोफुभिर’ नामबाट बजारमा ल्याएको जनाएको हो ।

म्याग्नसका बजार निर्देशक सुधीरप्रकाश मास्केले हेपाटाइटिस ‘सी’विरुद्धको औषधि नेपालमा बनाउनु ठूलो उपलब्धि र चुनौती भएको बताए । उनले भने, ‘हामीले हेपाटाइटिस ‘सी’विरुद्धको औषधि उत्पादन गर्न दुई वर्षदेखि लागिरहेका थियौँ । यसमा औषधि व्यवस्था विभागले पनि सहयोग गरेका कारण उत्पादनमा सफल भएका छौँ । यसलाई नेपाल र नेपालीको ठूलो उपलब्धि मान्नुपर्छ ।’

हेपाटाइटिस ‘सी’को औषधिको मूल्य निकै महँगो पर्ने भएका कारण सामान्य नेपालीले स्वास्थ्य उपचार पाउन निकै कठिन हुँदै आएको मास्केले बताए । म्याग्नस फर्माले स्वदेशमै उत्पादन गरेको औषधिको मूल्य आठ सय छ । हाल नेपालमा भारतबाट आयात गरिएको एउटा ट्याबलेटको हजारदेखि १२ सय रुपैयाँसम्म पर्ने मास्केले बताए ।

५० हजार ट्याब्लेट बजारमा
औषधि व्यवस्था विभागले शुक्रबार गुणस्तर मापन गरी औषधि बाजारमा ल्याउन अनुमति दिएसँगै म्याग्नस फर्मास्युटिकलले पहिलोपटक ५० हजार ट्याब्लेट बजारमा ल्याएको छ । उसले प्रतिट्याब्लेट आठ सय मूल्य राखेको छ । ‘एउटा बट्टामा २८ वटा ट्याब्लेट हुन्छन्,’ उनले भने, ‘एउटा बट्टाको मूल्य २२ हजार चार सय पर्छ ।’ नेपालमा पहिलोपटक उत्पादन भएकाले धेरै औषधि नबनाएको मास्केले बताए ।

नेपालमा एक लाख हेपाटाइटिस ‘सी’ का बिरामी
नेपालमा एक लाख हेपाटाइटिस ‘सी’ का बिरामी रहेको अनुमान गरिएको छ । वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. दिलीप शर्माका अनुसार हेपाटाइटिस ‘सी’ भाइरसले कलेजोमा आक्रमण गर्छ ।

समयमा उपचार नभएको खण्डमा मृत्युसमेत हुनेगर्छ । उनले भने, हेपाटाइटिस ‘सी’ ले मानिसलाई बिरामी पार्नुका साथै कलेजोको क्यान्सर गराउन सक्छ ।’ यसको उपचार निकै महँगो छ । सामान्य मानिसले उपचार गराउन निकै कठिन भएको समयमा नेपालमै सस्तो मूल्यमा औषधि उत्पादन हुनु सकारात्कम पक्ष भएको शर्माले बताए ।

Loading...