बालविवाहविरुद्ध किशोरी क्लब

राँझा, २८ साउन । बाँकेमा कानूनविपरीत बालविवाह गर्न पाउनुपर्ने माग गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउन किशोरी क्लबहरुले माग गरेका छन् ।सोह्र वर्षमै छोरीको विवाह गर्न पाउनुपर्ने भन्दै उठाइएको मागको प्रतिवाद गर्दै बाँकेका स्थानीय तहस्तरीय किशोरी क्लबहरूले यही साउन ३१ गते जिल्लाका सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाउने भएका छन् ।

“कम उमेरमा विवाह गर्दा बालिकाको स्वास्थ्य, शिक्षा र व्यक्तिगत जीवनमा पर्ने नकारात्मक असरबारे हामी जानकार छौँ”, खजुरा गाउँपालिकास्तरीय किशोरी क्लबकी अध्यक्ष दीक्षा न्यौपानेले भनिन “तसर्थ विवाहको उमेर घटाउनेबारेको माग तर्कसङ्गत नभएकाले सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।”

उनका अनुसार सानो उमेरमै विवाह गर्दा हुने नोक्सानी र बालअधिकारबारे सजग बनाउन बालविवाहविरुद्ध अभियानमा सक्रिय किशोरी क्लबले जिल्लाका आठवटै स्थानीय तहमा ज्ञापनपत्र बुझाउन थालेका हुन् ।

सोह्र वर्षको उमेरमै छोरीको विवाह गर्न पाउनुपर्ने माग गर्दै महिलाको एक समूहले नेपालगञ्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाँकेमा पटकपटक ज्ञापनपत्र र धर्ना दिन थालेपछि आफूहरु त्यसको प्रतिवादमा उत्रिएको डुडुवा गाउँपालिकास्तरीय किशोरी क्लबकी सहसचिव प्रमिला हरिजनले बताईन् ।

जानकी गाउँपालिका वडा नं ६ का रामदेव मिश्रले कानूनविपरीत १६ वर्षको उमेरमै विवाह गर्न पाउनुपर्ने भन्दै दूधेबालकसहितका महिलालाई प्रदर्शनमा ल्याएको पाइएको छ । बीस वर्षको उमेरमा बिहे गराउँदा ‘मधेसी समुदाय’का चेलीलाई समस्या हुने जिकिर गर्दै १६ वर्षमै विवाह गर्न पाउने व्यवस्था मिलाउनुपर्ने माग राखेको मिश्रले बताए ।