अर्घाखाँची, २७ साउन । सन्धिखर्क नगरपालिका–७ खाँचीकोटस्थित चुनढुङ्गा उत्खननबाट प्रभावित क्षेत्रमा वृक्षरोपण गरिएको छ । खानी प्रभावित क्षेत्रमा बिग्रने वातावारणलाई सन्तुलन कायम गर्न वृक्षरोपण गरिएको हो ।भूगर्भ सिमेन्ट प्रालिले यहाँको चुनढुङ्गा कपिलवस्तुको चन्द्रौटामा लगेर भूगर्भ सिमेन्ट उत्पादन गर्दै आएको छ । चुनढुङ्गा उत्खननबाट प्रभावित क्षेत्रमा रहेको सामुदायिक वनमा वातावरणीय सन्तुलन कायम गर्न भूगर्भ सिमेन्टले वृक्षरोपण गरेको हो ।
चुनढुङ्गा उत्खननले वातावरणीय क्षेत्रमा पार्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले त्यहाँ रहेको सामुदायिक वनमा वृक्षरोपण गरिएको भूगर्भ सिमेन्टका सञ्चालक इन्द्र बानियाँले बताए ।सो वनमा दाल चिनी, पैँयु, सल्ला, लाकुरी लगायतका झण्डै एक हजार बिरुवा रोपिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टुल्कबहादुर थापाले बताए ।
खानी प्रभावित क्षेत्रमा वातावरणलाई सन्तुलन कायम गर्दै स्थानीयवासीसँग हातेमालो गरेर ढुङ्गा उत्खनन गर्नुपर्ने सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसालले बताए । उनले खानी उत्खननबाट आएको रोयल्टी स्थानीय क्षेत्रका जनतालाई शिक्षा, स्वास्थ्य लगायत विकास निर्माणमा खर्च गर्नुपर्ने उल्लेख गर्दै भूगर्भ सिमेन्ट प्रालिले रोजगारीमा पनि स्थानीयवासीलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए ।
चुनढुङ्गा उत्खननले खाँचीकोटमा बढी प्रभाव पार्ने भएकाले यस क्षेत्रमा गरिने कामको गुणस्तरीय र पारदर्शी हुनुपर्ने सन्धिखर्क–७ का वडाध्यक्ष प्रितम थापाको भनाइ छ । उनले खानी उत्खनन गर्दा वडा समिति र स्थानीयवासीसँग समन्वय गर्नुपर्नेमा जोड दिए ।