राँझा, २७ साउन । इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इद–उल–अजहा ९बकर इद० नेपालगञ्जमा धुमधामका साथ मनाइएको छ ।बकर इदका अवसरमा बिहान यहाँको विपी चोकस्थित इदगाहमा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईसहित हजारौँको सङ्ख्यामा उपस्थित भई मुसलमान समुदायले सामूहिक नमाज प्रार्थना गरेका छन् ।
इदगाहमा जम्मा भएका हजारौँ मुसलमान समुदायले मुलुकमा अमनचैन र शान्तिको कामना गर्दै सामूहिक नमाज पढेको मुसलमान अगुवा समसुद्दीन सिद्दिकीले जानकारी दिए।
बकर इदको रमझम मुख्यगरी नेपालगञ्ज नगरमा देखिएको छ । नमाजपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान–प्रदान गरिएको छ। शहरी विकास मन्त्री राईले बकर इदको सम्पूर्ण देशवासीमा शुभकामनासमेत व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना गरे ।बकर इदको शुभकामना आदानप्रदानका लागि गैरमुसलमान धर्मावलम्बीहरु पनि इदगाह पुगेका थिए ।
मुसलमान अगुवा सिद्दिकीका अनुसार तीन दिनसम्म मनाइने यो पर्वमा हज र कुर्वानी बलि दिनुपर्ने प्रमुख विशेषता रहेको छ । बकर इदमा इस्लाम धर्मावलम्बीका लागि हज र कुर्वानी अनिवार्य भएकाले मुसलमान समुदायले इदगाहमा नमाज पढेपछि दक्षअनुसारको पशु बलि कुर्वानी दिने प्रचलन रहेको छ ।