२७ साउन, बाँके । डिग्री पढेकी एउटी युवती गाईको मलमुत्र स्याहार्छिन् भनेको सुन्दा धेरैलाई आचश्र्य लाग्न सक्छ । यस्ता पढेलेखेका धेरै युवति विदेश पसिरहेका छन् । कतिपय सरकारी जागिर खोज्दै भौतारी रहेका छन् । तर बाँके कोहलपुरकी शारदा शर्मा गाइपालनबाटै लखपति बनेकी छन् । आज उनै पढेलेखेकी मेहेनती युवा किसानको स्टोरी प्रस्तुत गर्देछौ । छोराले घर व्यवहार धान्छन् र छोरीले विहे भै अर्काको घरमा जान्छन् भन्ने नेपाली सोंचाइँ र परम्पराको अपवाद बनेकी छन् बाँके कोहलपुर-१२ चप्परगौडीकी शारदा शर्मा । ३४ बर्षीया शर्मा बाबुआमाको हेरचाह, भाईको पढाई लेखाइमा मात्र समर्पित नभई पशुपालनमार्फत बाँकेमै उदाहरणिय बनेकी छन् ।
व्यबसायिक गाईपालनले नै उनलाई देश देखि विदेश सम्म चिनाएको छ । शारदा सिर्जनशील गाई फार्म सन्चालन गरेर शारदाले वर्षमा ५-७ लाखरुपैयाँ बचत गर्छिन । १५ हजार रुपैयाँको लगानीमा डेढ दशक अघिदेखि सुरु गरेको गाई फार्मले आज उनको परिवारको आर्थिक उन्नती भएको छ भने सामाजिकरुपमा पनि निकै सम्पन्न बनाएको छ । एउटा उन्नत गाई किनेर गाइपालन सुरु गरेकी शारदाको फर्ममा अहिले १९ वटा गाई छन् । प्रतिदिन ७० लिटरसम्म दूध विक्री गर्नुहुन्छ । उनले बजारको माग धान्न सकेकी छैनन्। भारतको असममा रोजगारीमा रहेका बाबुलाई देशमै केही गरौं भनी कन्भिन्स गरेर फर्किएको र त्यसपछि गाईपालन सुरु गरेको उनको भनाइ छ ।
शर्माले ‘पढेलेखे हाकिम बनिन्छ, पढ्न नसके गोठालो’ भन्ने नेपाली उखानलाई चुनौती दिइरहेकी छन् । शिक्षा सङ्कायमा भारतको गुवाहाटी विश्वविद्यालयबाट स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेकी उनी यतिबेला बाँकेमा सफल गाईपालक कृषक मानिन्छन् ।
हालै प्रदेश नं ५ बाट राष्ट्रिय पुरस्कारका लागि अन्तिम सूचीमा छानिएका दुई कृषकमध्येकी एक उनी भन्छिन्: ‘लगनशील भएर काम गर्ने हो भने कमाइका लागि नेपाल छाडेर विदेशमा भौँतारिनुपर्दैन।’ अध्ययन पछि देश फर्केर शिक्षण पेशा शुरू गरेकी शर्माले विसं २०६८ देखि गाई फार्म सञ्चालन गर्न थालेकी हुन्।
पुर्खौली घर पर्वत भएकी शर्मा आफ्ना आमाबुवा काम गर्न भारत जाँदा आसाममा जन्मिएकी हुन् । उनका आमाबुवाले त्यहाँ ४५ वर्ष बिताए र डेढ दशकअघि नेपाल फर्किए। उनी भने स्नातकोत्तर तहसम्मको अध्ययन सकेर २०६६ सालमा नेपाल फर्किन् । आसाममा हुँदादेखि गाईपालन गरेका उनका अभिभावकले बाँकेको कोहलपुरमा पनि एउटा गाई पालेका थिए ।
आफ्ना आमाबुवा गाईपालनमा रमाएको देखेर आफू पनि व्यावसायिक रूपमै गाई पाल्न आकर्षित भएको उनी बताउँछिन् । नेपाल फर्किएपछि शर्माले उन्नत जातको अर्को गाई किनिन् र २०६८ सालमा आफ्नै नामको एउटा फार्म दर्ता गराइन् । उनले भनिन्, ‘पढेर जे अध्ययन गरियो त्यही पेसा गर्नुपर्छ भन्ने छैन। अरूको देखासिकी गर्नु राम्रो हुँदैन।’
‘आमाबुवाले गाई पालेको देखेर सानैदेखि मेरो रुचि यसैमा थियो, त्यही भएर मैले व्यावसायिक रूपमा गाईपालन थालेँ । उनले भनिन् ।
गाईपालन र गोठ सुधारका लागि उनले जिल्ला पशु सेवा कार्यालयमा २०७० सालमा दुई लाख रुपैयाँ अनुदान पनि पाइन् । आफ्नै गाईले जन्माएका बाच्छीहरूबाट नै उनले आफ्नो व्यवसायलाई अहिलेको अवस्थामा ल्याइपुर्याएकी हुन् । उनले ४६ वटा बाच्छा, बाच्छी र साँढे बेचेर आफूले २६ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको बताइन् ।
चौतीस वर्षीया शारदाको फार्ममा अहिले १९ वटा गाई छन् जसबाट प्रतिदिन ७० लिटर दूध बेचिरहेको उनी बताउँछिन् । दूध बेचेर मात्रै मासिक एक लाख ४० हजार रुपैयाँ आम्दानी भइरहेको र त्यसमध्ये ६० हजार रुपैयाँसम्म आफूले बचत गरिरहको उनी बताउँछिन् ।
उनी गाईलाई दानापानी खुवाउनेदेखि गोठ सफा गर्ने काम पनि आफैँ गर्छिन्। परिवारका अन्य सदस्यले पनि यो काममा सघाउँदै आएका छन्। ‘पन्ध्र हजार रुपैयाँ मासिक दिन्छु’ भन्दा पनि काम गर्ने मान्छे नपाएको भन्दै उनले परिवारकै सदस्यहरू मिलेर फार्मलाई चलाइरहेको जनाइन्।
गाईपालनमा सफलता हासिल गर्दै गएकाले दैनिक विभिन्न स्थानका कृषकहरू गाईपालनबारे सुझाव लिन उनलाई भेट्न आउने गरेका छन् । त्यस्ता किसानलाई उनले एकैचोटि ठूलो महत्त्वाकाङ्क्षा नराख्न र सानो स्तरबाट व्यवसाय थाल्न सुझाव दिने गरेकी छन् । उनी भन्छिन्, ‘एकैचोटि ठूलो फार्म खोल्दा ती बन्द भएका छन्। ‘सानो तर दिगो काम गर्नूस्’ भन्ने गरेकी छु।’
हालैका वर्षहरूमा सरकारले व्यापक प्रचारप्रसार गरेर अघि बढाउँदै आएको अनुदान कार्यक्रमलाई पनि सुधार गर्नुपर्ने उनको सुझाव छ । उनको विचारमा वास्तविक किसान पहिचान नगरी सरकारले लगानी गर्दा त्यसले प्रतिफल दिइरहेको छैन। मेहनत र इमान्दारीले सफलतातर्फ डोर्र्याउनेमा आफू विश्वस्त रहेको भन्दै उनले थपिन्, ‘यहाँ [नेपालमा] पनि विदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिन्छ।
शारदा गाइपालनको राम्रो सम्भावना देख्छिन तर राज्यले किसानमन्त्री वातावरण बनाउन नसकेको उनको बुझाइ छ । हरेक क्षेत्रमा सरकारले अनुदानका कार्यक्रम ल्याएको छ । तर त्यसको प्रभावकारीता नदेखिएकोप्रति शारदाको चित्त दुखाई छ । लगनशिलता, इमान्दारिता र दृढ इच्छाशक्ति हुने हो भने कमाइका लागि विदेश भौतारिन नपर्ने उहाँ आफुजस्ता तन्नेरीहरुलाई सुझाव दिन्छिन । विदेशमा भन्दा राम्रो आर्थिक आम्दानी स्वदेशमै बसेर पनि कमाउन सकिने बताईन । गाईपालनबाट केही समय निकालेर उनले सामाजिक कार्यमा पनि काम गर्दै आएकी छिन् । बालबालिकाका क्षेत्रमा काम गर्ने एउटा संस्था स्थापना गरी उनले बालबालिकाको क्षेत्रमा पनि आफुलाई क्रियाशिल बनाउँदै लागेकी छन् ।