एकै दिन ३४ जना कर्मचारी अनुपस्थित: प्रशासनको छड्के अनुगमन

पाल्पा – २४ साउन् जिल्लास्थित सरकारी कार्यालयहरूमा बिहीबार ३४ जना कर्मचारी अनुपस्थित भएका छन् । कार्यालयमा जानकारी नै नदिइ पाल्पाका ३२ वटा सरकारी कार्यालयका ३४ जना कर्मचारी अनुपस्थित भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले गरेको छड्के अनुगमनका क्रममा २३ जना कर्मचारीले तोकिएको पोशाक नलगाएको पाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी हुमबहादुर पाण्डेले जानकारी दिए ।

कार्यालयमा कर्मचारी अनुपस्थित हुँदा सेवाग्राही सेवा लिनबाट बञ्चित हुने, सेवाग्राहीको काम समयमै नहुने, राज्यले दिने सेवा प्रवाहमा असर गर्ने, कर्मचारीमा मनपरी मौलाउने हुन्छ । यस्तै कार्यालयले दिने सेवामा समेत बाधा अड्चन आउने गर्दछ ।

प्रशासनले बिहीबार पाँच वटा टोली बनाएर पाल्पाका विभिन्न ३२ वटा सरकारी कार्यालयहरूमा छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा कार्यालयमा अनुपस्थित भएका कर्मचारीलाइ विभागीय कारबाही गर्नका लागि सम्बन्धित निकायलाइ सिफारिस गरिने प्रमूख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले जानकारी दिए । कार्यालयमा कर्मचारीले पालना गर्नुपर्ने शर्त पालना नगरे कर्मचारीलाइ विभागीय कारबाही गर्ने, स्पष्टीकरण लिने प्रावधान छ ।

पछिल्लो समयमा सरकारी कार्यालयमा प्रभावकारी अनुमगन नहुँदा कर्मचारीहरू जानकारीबिनै व्यक्तिगत कामका लागि कार्यालयमा उपस्थित नहुने, कार्यालयमा समयमा नआउने, बेलुकी कार्यालय समयसम्म नबस्ने, सरकारी सवारीसाधनको दुरूपयोग गर्ने गरेको गुनासो बढेको थियो । सर्वसाधारणको गुनासो र कार्यालयको नीति अनुसार अनुगमन गरिएको प्रशासनले जनाएको छ ।

अनुगमनका क्रममा कार्यालय प्रमुख ३, अधिकृत ७, नासु सरहका, १२, खरिदार सरह २, हलुका सवारी चालक ५ र कार्यालय सहयोगी ५ जना अनुपस्थित भएका थिए ।जिल्ला प्रशासन कार्यालय पाल्पाका कर्मचारीहरू रमा श्रेष्ठ, हुमबहादुर पाण्डे, लक्षमण घिमिरे, हरि पन्थी र दिनेश बस्यालको नेतृत्वमा पाँच वटा टोलीले अनुगमन गरेको थियो ।

पाल्पामा सडक डिभिजन कार्यालय, खानेपानी कार्यालय, स्वास्थ्य कार्यालय, वन कार्यालय, भूसंरक्षण, प्रधानमन्त्री आधुनिकीकरण कार्यालय, कृषि ज्ञान केन्द्र, नापी, विशेष नापी, मालपोत, हुलाक, कोष तथा लेखा नियन्त्रण, पशु कार्यालय, कर दाता सेवा कार्यालयलगायत छन् ।