सवारी लाईसेन्सको परीक्षा दिएर फर्किदै गर्दा गयो सर्लाहीका २ युवकको ज्यान

सर्लाही । सर्लाहीमा सवारी दुर्घटनामा परि दुई युवकको ज्यान गएको छ । ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई युवकको ज्यान गएको हो ।

विहीवार पुर्व-पश्चिम राजमार्ग अन्तर्गत हरिवन- ११ चापिनी पुल नजिक दुर्घटना हुँदा मोटर साइकलमा सवार बरहथवा -४ का १९ वर्षिय बिक्रम कुमार कथबनिया र सोही ठेगानाका अर्का युवक २९ बर्षिय मनोज कुमार दासको मृत्यु भएको प्रहरीले जनाएको छ । कथबनियाको हरिवनस्थित नमुना अस्पतालमा र दासको भरतपुर तर्फ लादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक बिनोद सुनवारले जानकारी दिए ।

प्रहरीका अनुसार मृतकद्वय पूर्व बर्दिबासमा सवारी लाईसेन्सको लागि प्रयोगात्मक परिक्षा दिएर हरिवनतर्फ आउदै गरेका थिए । उनीहरु चढेको ना ५६ प १०४८ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट जाँदै गरेको ना ५ ख ६०१४ नम्बरको मालबाहक ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो ।

ट्रकको ठक्करबाट मृत्यु भएको दुवै युवकको शव अहिले पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको छ । ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा भए पनि ट्रकका चालक फरार रहेकाले चालकको खोजी कार्य भैरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक सुनवारले बताए ।

Loading...