निगमकाे बाेइङ ४ दिनदेखि ग्राउन्डेड । दाेहा, मलेसिया र बैङ्ग्लाेरका उडान प्रभावित

काठमाडाैं, १२ असार । नेपाल वायुसेवा निगमको बोइङ ७५७ को एउटा इन्जिनमा समस्या देखिएपछि चार दिनदेखि ग्राउन्डेड छ । यो विमान ग्राउन्डेड भएपछि निगमको दोहा, क्वालालम्पुर, बैंग्लोर उडान प्रभावित भएका छन् ।

निगमका एक अधिकारीका अनुसार नाइनएन एसीबी कल साइन भएको गण्डकी नामको विमानको दायाँ इन्जिनमा नियमित चेकजाँचका क्रममा इन्जिनियरहरूले समस्या पत्ता लगाएका थिए । उक्त समस्या समाधानका लागि निगमको बोइङ विमान मर्मतको जिम्मा पाएको सिंगापुरको एजेन्सीले इन्जिनियर पठाएको छ ।

‘विमान मर्मत भइरहेको छ, केही दिन लाग्छ,’ स्रोतले भन्यो । निगमसँग भएका दुइटा बोइङमध्ये यो मात्रै उडानमा रहेको छ । नाइनएन एसीए कल साइन भएको अर्को विमान उडानमा छैन । उक्त विमान लिलामको प्रक्रियामा छ ।

निगमले हाल ८ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा जहाज उडाउँदै आएको छ । यीमध्ये दुबई, बैंकक, दिल्ली, मुम्बई, हङकङमा एयरबस ए३२० ले उडान भर्दै आएको छ । निगमसँग हाल दुइटा एयरबस विमान छन् ।

Loading...