यसरी ल्याइदैछ इन्जिनियरिङ कलेजको अर्बौं सम्पत्ति व्यक्तिका नाममा

काठमाडाै‌, ११ भदाै । सामाजिक संस्थाको रूपमा दर्ता भई सञ्चालनमा आइरहेको भक्तपुर चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको अर्बौं सम्पत्ति व्यक्तिका नाममा ल्याउने प्रयास भएको छ।

चाँगुनारायणस्थित कलेजको ३९ रोपनी जग्गा,त्यसभित्र बनेको आधुनिक भवन, राज्यबाट कर छुटमा ल्याइएको प्रयोगशालाका सामग्रीलगायत चल अचल सम्पत्ति व्यक्तिगत बनाउने प्रयास गरिएको हो। कलेजका अध्यक्ष लम्बोदर न्यौपानेले कलेज सञ्चालन बोर्डका सदस्यलाई जानकारी नगराई निजी स्वामित्वको संस्था दर्ता गराएर सम्पत्ति ‘ट्रान्सफर’ गराउन लागेका हुन्।

०५१ सालमा स्थापना भएको उक्त कलेज ०६० मा विधिवत् रूपमा भक्तपुर जिल्ला प्रशासन कार्यालयमा सामाजिक संस्थाका रूपमा दर्ता भएको छ। दर्ता नम्बर ५५२ रहेको उक्त कलेजको विधानमा नै मुनाफारहित उद्देश्यले स्थापना गरिएकोु उल्लेख छ।

कानुनी व्यवस्थाअनुसार सामाजिक संस्थाका रूपमा स्थापित कुनै पनि संस्था सञ्चालन गर्न कठिन भएको अवस्थामा सम्पूर्ण सम्पत्ति राज्यलाई बुझाएर बन्द गर्नुपर्ने हुन्छ। व्यक्तिको नाममा कुनै पनि हालतमा ल्याउन मिल्दैन।

न्यौपानेले आफूखुसी निजी कम्पनी दर्ता गरी कलेजको सम्पत्ति आफ्नो नाममा ल्याउन लागेको थाहा पाएपछि अन्य सदस्यले विरोध गरेका छन् । कलेज सञ्चालक समितिमा ७ जना सदस्य छन् । न्यौपानेले कम्पनी रजिस्टारको कार्यालयमा आफ्नो कम्पनी दर्ता गरेर जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय भक्तपुरमार्फत सम्पत्ति ट्रान्सफर गराउने प्रक्रिया सुरु गरिसकेका छन्।

Loading...