पर्यटकीय स्थल ‘रानीमहल’को गुरूयोजना बन्दै

पाल्पा –२१ साउन् । ऐतिहासिक एवं पर्यटकीय स्थल रानीमहल दरबारको गुरु योजना सार्वजनिक गरिएको छ । ऐतिहासिक रानीमहललाई व्यवस्थित बनाउने सोंचका साथ समुन्नति गैरसरकारी संस्थाले तयार पारेको विस्तृत गुरु योजना तानसेनमा सार्वजनिक गरिएको हो ।
संस्थाका परामर्शदाता आकिटेक्चर ईन्जिनयिर समिर पौडेलले विस्तृत गुरु योजना प्रस्तुत गर्दै यसका लागि दुई करोड ५३ लाख खर्च अनुमानित गरिएको जानकारी दिए ।

समुन्नतिको तर्फबाट प्रकाश पाण्डेले रानीमहलमा पर्यटक आकर्षित गर्ने आवश्यक पूर्वाधार निर्माणसहितका विषय समेटेर गुरुयोजना तयार भएको बताए । उनले रानीमहललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन विभिन्न व्यक्ति तथा संस्थाको सुझाव पछि गुरुयोजनालाई पूर्णता दिने बताए ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बाह्Þय तथा आन्तरिक पर्यटकको बसाई लम्ब्याउन र यसको व्यवसायिक विकासमा ध्यान दिनुपर्ने बताए। उनले अहिले पनि प्रदेश सरकारले त्यहाँसम्म पुग्ने सहज बाटो निर्माणमा ध्यान दिएको र तानसेन नगरपालिकाले पनि यसको व्यवस्थापकीय पक्षमा काम गरिरहेको बताए ।

पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ र पाल्पा व्यापार सङ्घका अध्यक्ष चिरञ्जीवी पोखरेलले रानीमहललाई जिल्लाभित्र आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने स्थल बनाउन जोड दिए। उनिहरूले पाल्पालाई पर्यटन क्षेत्रको माध्यम्बाट चिनाउन पनि रानीमहलको व्यवस्थित गुरुयोजना सहित विकासमा ध्यान दिनुपर्ने बताए।

सार्वजनिक गरिएको गुरुयोजनामा सरोकारवालाहरूले रानीमहल दरबार र आसपासका क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पाल्पा र स्याङ्जा जिल्लाका स्थानीय तहहरूका बीचमा सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरूले पाल्पामा रानीमहल भएपनि अन्य आवश्यक पूर्वाधार निर्माणमा स्याङ्जाको स्थानीय तहको समेत भूमिका रहने बताएका थिए ।