श्रावण महिनाको शुक्ल पक्षको पञ्चमीलाई नागपञ्चमी पनि भनिन्छ । यो दिनलाई हिन्दु धर्मावलम्बीले नागको पूजा गरी मनाउने परम्परा रही आएको पाइन्छ ।
यस दिनमा नागको सबै किसिमका नागका पूजा गर्ने गरिन्छ। नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको पूजा आजकै दिन गरिन्छ । नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पनि पूजा आराधना गर्ने गरिन्छ।
किन पुजिन्छ नाग
एक प्रख्यात किंवदन्ती अनुसार एक किसानले आफ्नो खेत खनिरहेका बेला भेट्टाएका नागका तीन वटा बच्चा मारिदिए । त्यसबाट क्रोधित भएकी नागिनीले किसानलाई तत्कालै मारीदिइन् । त्यति गर्दा पनि रीस नमरेपछि उनले किसानको घरमा गएर किसानकी श्रीमती एवं दुई छोरालाई पनि मारिदिइन् ।किसानकी छोरी घरबाहिर रहेकीले बाँच्न सफल भइन् ।
किसानकी छोरीले जब सबै कुरा थाहाँ पाइन् तब उनले अनेक प्रकारले याचना गर्दै नागिनीको पूजा गर्न थालिन । शुद्ध मनले पूजा गर्दै उनले नागिनीलाई षोडषोपचारले पूजाआजा गरी कचौरामा दूध खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले उनको जीवन दाङ दिनुको साथै एउटा वर दिने पनि बचन दिइन् । मौका मिल्नासाथ किसानकी छोरीले आफ्ना मातापिता र भाइको जीवन मागिन् । नागिनीले तथास्तु भनी किसानको परिवारलाई आजकै दिन बचाइदिइन् । यसरी आफ्नै सन्तान मार्नेलाई समेत जीवनदान दिन सक्ने दयालू नागलाई सम्मान गर्दै श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन नागपूजा गरी घरमा टाँस्ने चलन चलेको हो ।
त्यस्तै अर्को भनाइ अनुसार एकपटक गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्र बर्ष सम्म तपस्या गरे । उनले यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाएर ल्याइयो । आफ्ना गुरु आएको देखी गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी बर्साएको प्रसङ्ग पनि धर्मशास्त्रहरूमा उल्लेख छ ।
वराह पुराणमा उल्लेख भएअनुसार नागराजसँग ब्रह्माको संवाद पञ्चमी तिथिमा भएकाले शुक्लपञ्चमी अर्थात् आजको दिन नागपूजाको लागि प्रसिद्ध रहेको छ ।
नागपूजाको विधि
नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नाग गरि अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ । ज्योतिषशास्त्र-अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने जनमान्यता रहेको छ ।नागदेवतालाई श्रीखण्डको सुगंध विशेष प्रियकर हुन्छ । त्यसैले नागपूजामा श्रीखण्ड चंदनको प्रयोग गर्नु राम्रो मानिन्छ, त्यस्तै नागपञ्चमीको दिनको पूजामा नागलाई मनपर्नेसेतो रङ्गको प्रयोग धेरै गरिन्छ । नागपूजामा सेतो कमलको प्रयोग गर्ने विधान छ, यस्तै नागपञ्चमीको दिनमा यी सम्पूर्ण कृत्य(कार्य) गर्न सक्दा कालसर्प योग दोषको शान्ति पनि हुन्छ भन्ने मान्यता पनि जनमानसमा रहेको छ ।
नाग पञ्चमीमा व्रतको विधि
नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत पनि लिने गरिन्छ । यस व्रतमा पूरै दिन निराहार बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर पकाएर त्यसलाई सर्वप्रथम प्रसादका रूपमा नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी (भोग लगाई), प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ। व्रत अवधिभरि कुनै किसिमको भोजनका साथै समाप्तिमा समेत नुन खानु वा चिल्लो तथा तेल जन्य परिकारहरूको प्रयोग पनि वर्जित छ । साथै व्रतसँग सम्बन्धित सबै नियमको पालना गर्नुपर्दछ ।
मुख्य द्वारमा नाग देवताको आकृतिको पूजा
नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरको द्वार(ढोका)मा टाँस्नाले सर्पको भय हुदैन भन्ने हिन्दू शास्त्रको मान्यता रहेको छ । नाग पञ्चमीका दिन नेपाल र भारतका विभिन्न नाग देवताको मन्दिरहरूमा नाग पञ्चमी मेला लाग्दछ। नागपञ्चमीका दिन व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई आफ्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ । त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लड्डू अर्पण गरी पूजासमेत गरेर नाग स्तोत्रको पाठ गर्ने गरिन्छ ।
यस्तो छ नागस्तोत्र
ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमा:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीतो मम सवर्दा।१।
इन्द्रलोकेषु ये सर्पा: वासुकी प्रमुखादय:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।२।
कद्रबेयाश्च ये सर्पा: मातृभक्ति परामा।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।३।
इन्द्रलोकेषु ये सर्पा: तक्षका प्रमुखादय:।
नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा।५।
सत्यलोकेषु ये सर्पा: वासुकिन च रक्षता।
नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा।६।
मलये चैव ये सर्पा: कर्कोतक प्रमुखादय:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।७।
प्रार्थव्याचैव सर्पेभ्य: ये साकेत वासित।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।८।
सर्वग्रामेषु ये सर्पा वसंतिषु सञ्च्छिता।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।९।
ग्रामे वा यदिवारण्ये ये सर्पाप्रचरन्ति च।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।१०।
समुन्द्रतीरे ये सर्पाये सर्पाजलवासिन:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।११।
रसातंलेषु ये सर्पा: अनन्तादि महाबला:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।१२।
नागमन्त्र पाठ गर्न असम्भव भए ॐ कुरुकुल्ये हुँ फट स्वाहा मन्त्रको ९००० पटक जाप गर्ने गरिन्छ।
नागगायत्रीको मन्त्र (ॐ नव कुलाय विध्महे विषदंताय धीमहि तन्नो सर्पः प्रचोदयात् को समेत एक माला (१०८ पटक) जप गर्ने गरिन्छ। यो नागमन्त्रको तीन माला जाप गर्दा नाग देवता प्रसन्न हुन्छन् भन्ने जनविश्वास छ।
के नाग पूजा गर्नाले सर्प भय हुदैन त ?
यो पर्व बर्षायाममा पर्ने भएकाले सर्प, बिच्छी आदी बिषालु जनावरहरूको प्रकोप हुनु स्वभाविकै हो । हिन्दू धर्मको मान्यता अनुसार यो दिन नागको पूजा गर्नाले सर्पहरूका राजा नाग देवता खुसी हुन्छन् त्यसैले नाग पूजा गर्ने मान्छेलाई सर्पको डर, भय हुँदैन भन्ने मान्यता सत्य होस् अथवा नहोस् तर नाग पूजा गर्दा सर्पको डर नहुने केही बैज्ञानिक कारणहरू छन् ।
बर्षायाममा घर वरपर ठुला ठुला झारहरू उम्रिएर सर्प तथा अन्य बिषालु जीवहरू घरमा भित्रिने धेरै सम्भावना रहन्छ, अर्को कुरा साउन, भदौ तिर भारी बर्षा हुने र घाम पनि निकै टन्टलापुर लाग्छ । यस्तो मौसममा सर्पहरू घाम र पानीबाट बच्ने ठाउँको खोजीमा हुन्छन् यस्तो अवस्थामा घर वरपर जङ्गल भएमा सर्पहरू सोझै घरमा पस्न आउँछन् । मानिसहरू चाडपर्वमा घरको अन्य कामकाज छोडेर भए पनि आफ्नो घरआँगन सफा गर्छन् । यसरी घरआँगन सफा भएर घर वरपर सफा भयो भने सर्पहरूको डर कम हुने भयो । यस कारण नागपञ्चमीमा नागको पूजा गर्नाले सर्पको डर हुदैन भन्ने कुरा सत्य मानिन्छ ।