भदौदेखि सार्वजनिक बसमा ‘ई–टिकेटिङ’

चिप्लेढुङ्गा, २० साउन । पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि पोखराभित्र सञ्चालन हुने सार्वजनिक बसमा ‘ई–टिकेटिङ’ लागू गर्ने र त्यसलाई क्रमशः ‘कार्ड सिस्टम’ मा लैजाने भएको छ । महानगरप्रमुख मानबहादुर जिसीले सो कुराको जानकारी दिँदै यहाँका यातायात सेवालाई व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको पनि बताए ।

कास्की जिल्ला ट्राफिक कार्यालयलाई ट्राफिक कोण हस्तान्तरण गर्दै उनले भने, “अबको छ महीनामा योजना तयार हुन्छ र योजनाअनुसार नै पोखरामा यातायात व्यवस्थापन गरिनेछ”, महानगरप्रमुख जिसीले दक्षिण एशियाली खेलकूद सागलाई दृष्टिगत गरेर पोखराका चार वटा चोकमा ट्राफिक लाइट जडान गरिने बताए ।

उनले आगामी मङ्सिरभित्र सिर्जनाचोकमा आकाशे पुल बनिसक्ने र सागलाई नै ध्यानमा राखेर शहरका मुख्य ठाउँमा सिसिटिभी जडानको योजनासमेत बनाइएको जानकारी दिए । ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भए पनि सुधार गरेर लैजान महानगर लागिपरेको छ भन्दै महानगरप्रमुख जिसीले यहाँका केही सडकमा एकतर्फी यातायात सञ्चालन गर्नुपर्ने आवश्यकता भएको पनि बताए।