सुर्खेत, १९ साउन । तिला गाउँपालिका–३ जुम्लाको लुम्सेरा गाउँस्थित काठेपुल बगाउँदा आवतजावत गर्न स्थानीयवासीलाई समस्या भएको छ ।तिला नदीमा शनिबार आएको बाढीले ४० वर्षअघि बनाएको काठेपुल बगाएको हो ।
बाढीले पुल बगाएपछि अहिले वारपार बन्द भएको तिला गाउँपालिका–३ जुम्ला लुम्सेरागाउँका स्थानीयवासी दीपेन्द्रराज हमालले राससलाई जानकारी दिए।
झोलुङ्गे पुल नबनेको अवस्थामा काठको पुल बग्दा तत्काल वारपार गर्ने विकल्पका लागि गाउँपालिका र जिल्ला प्रशासन कार्यालय जुम्लासँग गुहार मागिएको उनले बताए ।उनका अनुसार स्थानीयवासीको नदी किनारका धान खेतसमेत बाढीले पुरेको छ ।
सूर्य सामाजिक सेवा सङ्घ जुम्लाले करीब रु ५० लाखको लागतमा दुई वर्षअघि शुरु गरेको झुलुङ्गे पुल तत्कालै बन्ने अवस्था नरहेकाले त्यहाँस्थित ४१ घरधुरीका स्थानीयवासीलाई सकस परेको जनाइएको छ ।