दमौली, १९ साउन । रोटरी क्लब अफ न्यूरोड पोखराले तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार माध्यमिक विद्यालयका विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरेको छ । कक्षा नर्सरीदेखि ८ सम्मका ६६३ विद्यार्थीको आँखाको परीक्षण गरिएको कार्यक्रम संयोजक दीपेन्द्र शर्माले जानकारी दिए।
मनिपाल अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई चिकित्सकसहित पाँच जनाको समूहले विद्यार्थीको आँखा जाँच गरेको हो । क्लबको वार्षिक कार्ययोजनाअनुसार विद्यालयमा तेस्रोपटक आँखा शिविर सञ्चालन गरिएको शर्माले बताए।आँखा जाँच कार्यक्रममा ४१ विद्यार्थीको आँखामा सामान्य समस्या देखिएको र दुई जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ ।
“आँखामा समस्या देखिएका विद्यार्थीलाई शल्यक्रियासहित आवश्यक पर्ने सबै खर्च क्लब र मनिपाल अस्पतालले व्यहोर्नेछ”, शर्माले भने । सो अवसरमा आँखामा समस्या देखिएका विद्यार्थीलाई निःशुल्क औषधि प्रदान गरिएको क्लबले जनाएको छ ।