कर्मचारी तथा शिक्षक सबैले तलब खान बाबुआमाको खातामा १० प्रतिशत अनिवार्य जम्मा गर्नुपर्ने

काठमाडाैं । अब सरकारी कोषबाट तलब खानेले आफ्नो मासिक पारिश्रमिकको १० प्रतिशत बाबुआमाको खातामा अनिवार्य जम्मा गर्नुपर्ने भएको छ । बृद्ध अवस्थामा धेरैले बाबुआमालाई पाल्न छाड्ने गरेको तथा सामाजिक सुरक्षाका लागि यस्ता व्यवस्था लागु गर्न लागिएको बताइएको छ ।

यो व्यवस्था निर्वाचित जनप्रतिनिधि, कर्मचारी र शिक्षक लगायत सबैमा लागु हुने भएको छ । अहिलेका लागि यो व्यवस्था स्थानीय तहहरुमा सुरु गरिएको छ । यसलाई विस्तारै देशव्यापी बनाउने बताइएको छ ।

यो व्यवस्था सर्वप्रथम नवलपरासीको देवचुली नगरपालिकाले लागु गरेको छ । नगरपालिकाले आफ्नो पालिका अन्तर्गतका कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिहरुलाई समेत आफ्नो तलबको १० प्रतिशत बाबुआमाको बैंक खातामा जम्मा गर्न र त्यसरी जम्मा गरेको भौचर पालिकामा पेश गर्नुपर्ने अनिवार्य बनाएको छ ।

त्यसरी भौचर नगरपालिकामा पेश गरेपछि मात्र नगरपालिकाले तलब उपलब्ध गराउने निर्णय गरेको छ । देवचुली नगरपालिकाको चौथो नगर सभाले यो निर्णय गरेको हो । यो निर्णयसँगै नगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुले पनि १० प्रतिशत रकम बाबुआमाको खातामा जम्मा गर्नु पर्नेछ । त्यसैगरी यस नगरपालिकाका सबै निर्वाचित जनप्रतिनिधि, कर्मचारीहरुले पनि उक्त निर्णय लागु गर्नुपर्ने छ ।

नगरपालिकाले खाता नभएका बाबुआमाहरुका लागि खाता खोल्न पनि निर्देशन जारी गरेको छ । ‘सम्बन्धित सबैले आफ्ना बाबुआमाका नाममा बैंक खाता खोलि तोकिएको रकम जम्मा गरी बैंक भौचर यस कार्यालयमा पेश गर्नु हुनु भन्दै पालिकाले सबैलाई निर्देशन गरेको छ ।

बुढेसकालमा सन्तानले नहेर्ने क्रम बढ्दै गएकोले वृद्धवृद्धाको अवस्था नाजुक नहोस् भनेर उक्त ब्यवस्था गरेको पालिकाले जनाएको छ ।

Loading...