दमौली, १७ साउन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईको आमाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।उनले आज शोकवक्तव्य जारी गर्दै भट्टराईकी आमा वसुन्धरा भट्टराईको निधनले आफूलाई स्तब्ध बनाएको बताए । “काङ्ग्रेसका क्रियाशील सदस्य रहनुभएकी भट्टराईको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको छ”, उनको शोक वक्तव्यमा उल्लेख छ ।
वरिष्ठ नेता पौडेलले यस दुःखद् घडीमा मृतआत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरे ।यसैगरी नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी र केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि शोक वक्तव्य जारी गर्दै भट्टराईको निधनप्रति दुःख व्यक्त गरे ।
भट्टराईको ७२ वर्षीया आमा वसुन्धरा भट्टराईको गए राति व्यास नगरपालिका–११ स्थित निवासमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेकि भट्टराईको आज दमौलीस्थित सेतीमादी घाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । स्व भट्टराईको तीन छोरा र तीन छोरी रहेका छन् ।