खुला तर्फको निमावि तहको नतिजा केही दिनमै


१६ साउन, काठमाडौं । शिक्षक सेवा आयोगले केहि दिनमै खुला तर्फको निम्न माध्यमिक तहको अन्तिम नतिजा सार्वजनिक गर्ने भएको छ । हाल जिल्लाबाट आएका व्यक्तिगत फाइलहरुको इन्ट्री सकेर रुजु गर्ने काम पनि अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।

रुजुको काम सकिएलगत्तै अन्तिम नतिजा सार्वजनिक हुने आयोगले स्पष्ट पारेको छ ।

‘जिल्लाबाट आएका फाइलहरु इन्ट्री सकेर रुजुपनि सकिने चरणमा छ । केही दिनमै नतिजा सार्वजनिक हुन्छ ।’ आयोगका प्रशासकीय प्रमूख डा. तुलसी थपलियाले भने, ‘यसै हप्ताभित्रै नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ ।’

गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो । अन्तर्वार्ता भएको महिना दिन बितिसक्दापनि आयोगले निमावि तहको नतिजा सार्वजनिक गर्न सकेको छैन ।

निमावि तहको लागि मुख्य विषयमा देशभर १६३५ पदमा विज्ञापन भएकामा ६०९६५ ले आवेदन दिएका थिए । जसमध्ये २ हजार २४७ लिखित परीक्षा उत्तीर्ण गरि अन्तर्वार्तामा सहभागी भएका थिए ।

निमावि तहमा क्षेत्रीय रुपमा विषयत परीक्षा भएको थियो । नेपाली विषयमा ४६० पदमा भएको विज्ञापनमा १२ हजार ५०९ लिखित परीक्षामा सहभागी भएका थिए । जसमा ४१० जनाले लिखित परीक्षा उत्तीर्ण गरी अनतर्वार्तामा सहभागी भएका थिए ।

यसैगरी, गणित विषयमा २५० पदमा भएको विज्ञापनमा ५ हजार ४६२ परीक्षामा सहभागी भई उत्तीर्ण २८६ जनाले अन्तर्वातामा सहभागीता जनाएका थिए । यस्तै, विज्ञान विषयमा १८० पदमा भएको विज्ञापनमा १ हजार ८१२ ले परीक्षामा सहभागिता जनाएकामा २६१ उत्तीर्ण भई अन्तर्वार्तामा सहभागिता जनाएका आयोगका प्रशासकीय प्रमूख डा. थपलियाले जानकारी दिए ।

डा. थपलियाका अनुसार २७७ पदमा भएको सामाजिक विषयको परीक्षामा १७ हजार ७८४ ले परीक्षा दिई देशभरबाट उत्तीर्ण ४१० जनाले अन्तर्वार्तामा सहभागिता जनाएका थिए ।

Loading...