रुकुमपूर्व, १५ साउन । सिस्ने गाउँपालिका–३ निवासी गौसरा खड्काले सानीभेरी नदी तर्दा आफ्नो श्रीमान् गुमाईन् । यसैगरी सिस्ने गाउँपालिका–५ निवासी लीलामणि गौतमले पनि सानीभेरी तर्दा दिदी गुमाए ।
सानीभेरीमै बगेर यतिले ज्यान गुमाए भन्ने कुराको तथ्याङ्क सङ्कलन त गरिएको छैन तर उनिहरु जस्तै गाउँमा अकालमै आाफन्त गुमाउनेहरु धेरै छन् । हिउँदमा काठको साँघु र वर्षामा जङ्घार तरेर वारपार गर्ने पोखराका नागरिकका लागि अब भने त्यो दुःख रहेन । अहिले सानीभेरीमा वारि र पारि गाउँलाई जोड्ने झोलुङ्गे पुल बनिसकेको छ ।
यो पुलले यतिबेला दुई गाउँलाई मात्र होइन, सानीभेरीमा बगेर आफन्त गुमाउनेहरुको फाटेको मन पनि जोडेको छ । सानीभेरी नदी रुकुम पूर्व कै सबैभन्दा ठूलो नदी हो । योभन्दा अगाडि यस नदीमा पुल नहुँदा सयौँ नागरिकले जोखिम मोलेर काठको साँघुमार्फत वारपार गर्ने गरेका थिए । पुल बनेपछि भने त्यो बाध्यता टरेको स्थानीयवासी बताउँछन् ।
सस्टेनेबल ब्रिज डिभिजन पुल्चोक ललितपुरको सहयोगमा बिएलपी–हिमशिखर जेभीद्वारा ७५ वैशाख २५ गते निर्माण कार्य शुरु भई फागुनको पहिलो साता पुल निर्माणको काम सम्पन्न भएको हो । पुलले सिस्ने गाउँपालिका–३ र ४ का नागरिकलाई सदरमुकाम रुकुमकोटसँग जोडेको छ । विशेष गरेर बाह्रै महिना सदरमुकाम पुग्न सकस हुने वडा नं ३ पोखरावासीलाई सजिलो भएको छ ।
त्यसैगरी बाफीकोट गाउँपालिका–२ रुकुम पश्चिम का नागरिकलाई पनि वारपार गर्न पुलले सजिलो बनाएको छ । सानीभेरीमा पुल बनेसँगै सानीभेरीको किनारैमा रहेको जिल्लाकै महत्वपूर्ण पर्यटकीयस्थल तातोपानी घुम्न जानलाई पनि सजिलो भएको वडाध्यक्ष पशुपति खड्काले बताए। पुल बनेसँगै तातोपानी नुहाउन, कपडा धुन तथा हेर्न जानेको सङ्ख्यामा पनि वृद्धि भएको उनको भनाइ छ ।
कूल दुई करोड ९१ लाखको लगानीमा निर्माण काम सम्पन्न भएको यो पुल तोकिएको समयभन्दा ६ महिना अगावै सम्पन्न गरिएको निर्माण कम्पनीका प्रतिनिधि नरहरि खड्काले बताए । उक्त पुलको लम्बाइ ३५७ मिटर १० सेन्टिमिटर रहेको उनले बताए । हाल जिल्लामा भएका अन्य पुलभन्दा यो पुल सबैभन्दा लामो पुल भएको बताइएको छ । पुल निर्माणपश्चात् पोखराका नागरिकलाई उत्पादित तरकारी, फलफूल तथा अन्य चिजवस्तुहरु सदरमुकाम रुकुमकोट लिएर बेच्न सजिलो भएको यमुना खड्काले बताईन् ।
यहाँका नागरिकले पुल नहुँदा बर्सेनी घरघरबाट चन्दा उठाएर काठको साँघु हाल्ने गरेका थिए । त्यही साँघु पनि हरेक वर्षको वर्षामा उर्लेर आउने भेलले बगाएर लैजाने गथ्र्यो । त्यतिबेला स्थानीय बासिन्दा एक घण्टाको पैदल यात्रा गरेर अमलाचौर र बोजेरी भन्ने ठाउँको पुलबाट यात्रा गर्ने गर्थे । अहिले पुल बनेपछि भने यात्रा सहज र सुरक्षित भएको छ । साथै समयको बचत पनि हुने गरेको छ ।