कार्यविभाजन अलमलमै छाडेर ओली दाहाल विदेश

काठमाडौं, १४ साउन । सत्तारूढ नेकपाको केन्द्रीय नेताहरूको कार्य विभाजन प्रस्ताव फेरि पछि धकेलिएको छ। पार्टीको केन्द्रीय विभागअन्तर्गतको स्कुल विभागको नेतृत्वमा पूर्वपार्टीका दुई धारका बीच मतभेद बढिरहेका बेला नेताहरूले त्यसलाई टुंगो नलगाई सचिवालय बैठक पछि धकेलेका हुन्।

तत्कालीन एमाले–माओवादीबीच पार्टी एकता भएको १५ महिना बितिसक्दा पनि कार्यविभाजनमै अलमल भइरहेको छ। सचिवालय बैठकपछि धकेलेर अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल विदेश भ्रमणमा निस्कन लागेपछि एकता प्रक्रियामा ढिलाइ हुन पुगेको हो।साउन ५ यता मात्रै तीनपटक स्थगित सचिवालय बैठक सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। तर बैठकमा कार्य विभाजन प्रस्तावमा नेताहरूले अझै गृहकार्य नपुगेको धारणा राखेपछि बैठक २८ साउनसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

‘केन्द्रीय सल्लाहकार परिषद्, राष्ट्रिय परिषद्, केन्द्रीय आयोग, जेष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभाग, जनवर्गीय संगठनका फ्याक्सन इन्चार्जलगायत केन्द्रीय सदस्यका सबै नेताहरूको कार्य विभाजनका लागि नेताहरूको आआफ्नो रुचि सोध्ने, सल्लाह गर्ने व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउने गरी साउन २८ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ,’ प्रवक्ता श्रेष्ठले अन्नपूर्णसँग भने। वरिष्ठ नेता झलनाथ खनालले पनि बैठकमा कार्यविभाजन प्रस्तावमा गहिरिएर छलफल नभएको बताए। ‘प्रधानमन्त्रीले कार्य विभाजन प्रस्तावमा अझै गृहकार्य बाँकी रह्यो, पछि छलफल गरौँला भने। त्यसपछि हामी उठ्यौं,’ खनालले भने।

नेकपाका ३२ विभागमध्ये स्कुल विभागको नेतृत्वको विवाद मिलाउन नेतृत्वलाई मुस्किल परिरहेको छ। प्रवक्ता श्रेष्ठ र अर्का सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उक्त विभागको दाबी नछोडेपछि अध्यक्षद्दयलाई नेतृत्व टुंगो लगाउन सकस परेको हो। सचिवालयमै रहेका श्रेष्ठ र पोखरेलले स्कुल विभागको दाबी नछोडेपछि स्थायी समितिबाट पनि नेताहरू डा वेदुराम भुसाल र घनश्याम भुसालले विभागको दाबी गरेका छन्।

प्रधानमन्त्री ओलीले सोमबारको बैठकमा विभागको कार्यविभाजन छलफल अहिले नगरौं भन्ने प्रस्ताव राखेका थिए। त्यसपछि झन्डै ढेड घण्टा बसेको सचिवालय बैठक विषयान्तर भई अन्तर्राष्ट्रिय बाघ दिवस, नेताहरूको विदेश भ्रमण लगायतमा केन्द्रित भएको एक सचिवालय सदस्यले बताए।गृहमन्त्री रामबहादुर थापाले भने सचिवालय सदस्यहरू कसैले पनि विभागीय जिम्मेवारी नलिई स्थायी समितिभन्दा तलबाट जिम्मेवारी दिने प्रस्ताव गरेका थिए। बैठकमा थापाको प्रस्तावमा पनि छलफल नभएको ती नेताले बताए।

अध्यक्षद्वयले नै आफूहज्ञको विदेश भ्रमणको कार्यतालिका बनेको बताएपछि सचिवालय सदस्यहरू अचम्भित भएका थिए। ‘साउनभित्रै पार्टी एकताको सम्पूर्ण प्रक्रिया पूरा गरेर स्थायी समिति र केन्द्रीय समितिको बैठकसमेत बस्ने नेताहरूले नै बताए। तर फेरि उनिहरू विदेश भ्रमणमा निस्केर कार्यविभाजनलाई पछि धकेल्ने योजना ल्याए,’ ती सचिवालय सदस्यले भने, ‘त्यसपछि त सचिवालय बैठक झिनामसिना छलफलमा विषयान्तर हुन थाल्यो।’

बैठकमा अन्तर्राष्टिय बाघ दिवसका विषयमा मात्रै झन्डै आधा घण्टा नेताहरूले चर्चा गरेका थिए। वरिष्ठ नेता माधव नेपाल बाघ दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा भाग लिन पहिले रसिया भ्रमणका गएको स्मरणदेखि नेपालले लिएको लक्ष्यअनुसार सन् २०२२ सम्म नेपालमा बाघको संख्या कसरी बढाउन सकन्छि भन्नेमा पनि सचिवालय बैठकमा नेताहरूले छलफल गरेका थिए।

‘केन्द्रीय नेताहरूको कार्यविभाजन कसरी टुंग्यानउने भन्ने छलफल गर्नुपर्ने बैठक विषयान्तर भई बाघ बढाउने देखि अध्यक्षद्वयको विदेश भ्रमणसम्ममा केन्द्रित हुन थाल्यो। त्यसपछि बैठक स्थगित गरियो,’ ती नेताले भने। प्रधानमन्त्री ओली १८ साउनमा सिंगापुर जाँदैछन्। अर्का अध्यक्ष दाहाल मंगलबार दुबई जाने कार्यक्रम छ।

प्रधानमन्त्री ओली उपचारका लागि र दाहाल पत्नी सीता, छोरी, नातिनीसहित दुबई जान लागेका हुन्। तर वरिष्ठ नेता खनालले भने सचिवालय बैठकमा नेताहरूको विदेश भ्रमणका विषयमा छलफल नभएको जिकिर गरे। उनले भने, ‘नेताहरूको विदेश भ्रमणको कार्यतालिका पनि होला सायद, तर सचिवालय बैठकमा यस विषयमा छलफल भएको छैन। केन्द्रीय सदस्यहरूलाई आ–आफ्नो रुचिका विषयमा पनि बुझौं भन्ने भएपछि बैठक गृहकार्य गर्न स्थगित गरिएको हो।’

खनालका अनुसार अब कार्यविभाजन अगाडि महासचिव विष्णु पौडेलले केन्द्रीय सदस्यहरूलाई बोलाएर कुन जिम्मेवारीमा रहेर काम गर्ने रुचि छ भन्ने विषयमा बुझ्नेछन्। प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि कार्यविभाजन अगाडि सबै केन्द्रीय नेताहरूका रुचिका प्राथमिकता बुझेर व्यवस्थित र परिमार्जित प्रस्ताव ल्याउन समय दिइएको बताए। ‘कुन नेतालाई केको जिम्मेवारीमा बसेर काम गर्न मन छ भन्ने विषयमा प्राथमिकता निर्धारण गरेर रुचि बुभ्mने र त्यही आधारमा जिम्मेवारी दिने गरी परिमार्जित व्यवस्थित प्रस्ताव आगामी सचिवालय बैठकमा प्रस्तुत गरिनेछ,’ श्रेष्ठले भने।