काभ्रेका छ वन समूह पुरस्कृत

बनेपा, १४ साउन । डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०७५/७६ मा उत्कृष्ट काम गरेको आधारमा तीन सामुदायिक वन र तीन कबुलियती वन समूहलाई पुरस्कृत गरेको छ ।

कार्यालयले आव २०७५/७६ मा जिल्लाभरिकै वन समूहमध्येबाट सामुदायिक वन उपभोक्ता समूहबाट काम गरेको मूल्याङ्कनको आधारमा उत्कृष्ट तीन समूहलाई नगदसहित सम्मान गरिएको हो । मूल्याङ्कनको आधारमा छनोट भई उत्कृष्ट हुने वन समूहमध्ये पनौती नगरपालिका वडा नं १ रयालेका रानीकोट मुरली खोला सामुदायिक वन उपभोक्ता समूह प्रथम भएको छ । जसलाई नगद छ हजारसहित सम्मान गरिएको छ ।

त्यस्तै बनेपा नगरपालिका वडा नं ११ का सल्ले सामुदायिक वन उपभोक्ता समूह दोस्रो भई नगद चार हजार प्राप्त गरेको छ भने खानीखोला गाउँपालिका वडा नं ७ मिल्चेका बोरनडाँडा सामुदायिक वन उपभोक्ता समूह तेस्रो भई नगद दुई हजार प्राप्त गरेको छ । हरेक वर्ष वन कार्यालयले काम गरेको आधारमा सामुदायिक वन उपभोक्ता समूहमध्येबाट छनोट गरी पुरस्कृत र सम्मान गर्दै आएको छ ।

यसैबीच कबुलियती वन उपभोक्ता समूहको तर्फबाट आव २०७५/७६ मा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं १ रयालेका फर्सीको पहिरो कबुलियती वन उपभोक्ता समूह प्रथम, बनेपा नगरपालिका वडा नं ३ नालाका पहरेपानी कबुलियती वन उपभोक्ता समूह दोस्रो र नमोबुद्ध नगरपालिका वडा नं ३ का साँधेढुङ्गा कबुलियती वन उपभोक्ता समूह तेस्रो भएको छ । प्रथम, दोस्रो र तेस्रो हुने वन उपभोक्ता समूहलाई क्रमशः नगद छ हजार, चार हजार र दुई हजारसहित सम्मान गरिएको छ । जिल्लामा ५७७ सामुदायिक वन उपभोक्ता समूह र ४६० कबुलियती वन उपभोक्ता समूह रहेका छन् ।

Loading...