पाल्पामा आत्महत्या सम्बन्धी घटना बढ्दैछ

पाल्पा – पाल्पामा हरेक वर्ष आत्महत्या सम्बन्धी घटनामा बृद्धि भएको छ । पारिवारिक विछोड, सामाजिक संजालको दुरुपयोग, मानसिक रोग तथा दीर्घ रोग, प्रेममा बिछोड इत्यादि कारणले पाल्पामा आत्महत्या सम्बन्धी घटनामा बृद्धि भएको प्रहरीले जनाएको छ ।

पछिल्लो तीन वर्षको अबधिमा पाल्पा जिल्लामा मात्रै दुई सय ३० जना बढीले आत्महत्या गरेका छन् । मानसिक रोगी, दीर्घ रोगी, गरिबी, प्रेम, सामाजिक संजालको दुरुपयोग आदि कारणले पाल्पामा हरेक वर्ष आत्महत्या सम्बन्धी घटना बढेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

विविध समस्याबाट मुक्त हुनका लागि मानिसले विष सेवन गरेर, झुण्डिएर, आगो खन्याएर, नदी खोलामा हाम फालेर आत्महत्याको बाटो रोज्ने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । बालबालिका, युवायुवतीले प्रेमको आवेगमा आत्महत्या गर्ने गरेका छन् केहीले एसईई परीक्षामा अनुत्तीर्ण भएको, आफूले रोजेको प्रेमी प्रेमिका नपाएको भन्दै आत्महत्या गरेका छन् ।

बुढाबुढी, बृद्धाले भने दीर्घरोगका कारण आत्महत्याको बाटो राज्ने गरेका छन् । यस्तै चरम गरिबीको समस्यामा रहेका मानिसले समेत आर्थिक बोझ सहन नसकी आत्महत्या गर्ने गरेका छन् । यस्तै परिवारबाट हेपिएको, श्रीमान्÷श्रीमातीले धोखा दिएको कारण पनि आत्महत्या गरेको पाइएको छ ।

जिल्लामा आर्थिक वर्ष ७३र७४ मा विष सेवन गरेर ९ जना र झुण्डिएर ६६ जना गरी ७५ जनाले आत्महत्या गरेका छन् । यस्तै आर्थिक वर्ष ७४र्७५ मा विष सेवन गरेर ८ जना, झण्डिएर ५७ जना र पानीमा हाम फालेर २ जना गरी ६७ जना र आर्थिक वर्ष ७५र७६ मा विष सेवन गरेर १० जना, झुण्डिएर ७३ जना, हाम फालेर ५ जना र आगो लगाएर १ जना गरी जम्मा ८९ जनाले आत्महत्या गरेका छन् ।

जिल्लामा विभिन्न संघसंस्थाले आत्महत्या न्युनीकरण सम्बन्धी कार्यक्रम एक वर्षअघि सम्म गरेका थिए । तर पछिल्लो वर्ष भने आत्महत्या न्युनीकरण सम्बन्धी कुनै पनि सचेतनामुलक कार्यक्रम हुन सकेको छैन ।

यसले पनि आत्महत्या गर्ने मानिसको संख्यामा बृद्धि भएको अनुमान गर्न सकिन्छ । प्रहरीले गाउँमा भएका कार्यक्रममा अपराध न्युनीकरण सम्बन्धी सचेतना कार्यक्रममा आत्महत्याका बारेमा सचेतना कार्यक्रम संचालन गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।

आत्महत्या गर्ने मानिस एकोहोरिने, एकान्तमा बस्ने, नबोल्ने, आत्महत्या गर्छु भन्ने, मेरो संसारमा कोही छैन भन्ने जस्ता लक्षण उनीहरूले देखाउँछन् ।