४० वर्षपछि बल्ल सार्वजनिक शौचालय

भद्रपुर, १३ साउन । ‘हङकङ मार्केट’ भनेर चिनिँदै आएको झापाको धुलाबारीमा बजार स्थापना भएको चार दशकपछि बल्ल सार्वजनिक शौचालय बनेको छ ।

मेचीनगर नगरपालिका–१० मा रहेको धुलाबारी बजारको मध्यभागमा नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घको साझेदारीमा सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण भएको हो । शौचालयमा महिला र पुरुषको कोठा अलग्गै हुनुको साथै कमोडको बेग्लै कोठा छ ।

मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाका अनुसार ४० वर्षदेखि नेपालको ‘हङकङ मार्केट’का रूपमा कहलिएको धुलाबारी बजारमा व्यापारीले सार्वजनिक शौचालयको माग गर्दै आएका थिए । अहिले निर्माण भएको सार्वजनिक शौचालयले विदेशी पर्यटक र किनमेलका लागि आउने स्थानीयलाई सुविधा भएको उनले बताए।

धुलाबारी बजारमा चिनियाँ र तेस्रो मुलुकको सामान खरीद गर्न भारतको सिक्किम, दार्जिलिङ, सिलगढी, आसाम, मेघालय, नागाल्याण्ड मात्र नभएर भुटानको फुञ्चोलिङ र बङ्गलादेशको पञ्चगढबाट समेत खरीद आउने गरेको तिम्सिनाले बताए ।

शौचालयको निर्माणमा नगरपालिकाले रु पाँच लाख र मेची उद्योग वाणिज्य सङ्घले रु चार लाख लगानी गरेको निर्माण समितिका अध्यक्ष ललित बोहोराले जानकारी दिए।