गुल्मी ,११ साउन । गुल्मीको सत्यावती गाउँपालिका ३ ठूलोलुम्पेकका करिब ४०० घरहरु जोखिममा परेका छन्। सिङदीमा मंगलबार बिहान परेको अबिरल बर्षाका कारण पहिरो जाँदा गाउँनै जोखिममा परेको हो।
अहिले त्यस ठाउँका जोखिममा रहेको ब्यक्तिलाई स्थानीय विद्यालयमा मेस संचालन गरी राखिएको छ। गाउँनै पहिरोको जोखिममा परेपछि अब विद्यालयमा बस्नु बाहेकको विकल्प नरहेको र आगामी दिनहरूमा के गर्ने भन्ने बारेमा चिन्ता लागेको स्थानीय टिका रानाले बताए।
अहिले विद्यालय बन्द र बिदाको समयमा त त्यति समस्या रहँदैन अब २८ गतेदेखि विद्यालय संचालनमा आउने भएपछिको अवस्थालाई ध्यान दिनुपर्ने र जोखिम परिवारलाई कता कसरी ब्यवस्थापन गर्ने भन्नेतर्फ ध्यान दिनुपर्ने उनले बताए। यता सत्यावती गाउँपालिकाका प्रमुख पारीश्वर ढकालले पुनर्थापना कसरी गर्न सकिन्छ भन्ने बारेमा पालिकाले प्रदेस र केन्द्रसँग समन्वय गरी योजना बनाउने बताए।
सत्यावती गाउँपालिकाको लिम्घामा पहिरो जाँदा ८ जना र ठुलोलुम्पेकमा ५ जनाको गरी १३ जनाको मृत्यु भएको छ भने २ जना घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा उपचार भइरहेको छ।