काठमाडौं, १० साउन । भारतीय सरकारी जासुसी संस्था रिसर्च एण्ड एनलाइसिस विङ ‘रअ’ का प्रमुख सामन्त गोयल नेपाल भ्रमण पूरा गरेर सोमबार स्वदेश फर्किसकेका छन् तर उनको विषयले नेपाली राजनीति अझै तरंगीत देखिएको छ ।
गोयललाई नभेटेको अथवा भेटेर पनि कुनै अदृश्य प्रस्ताव स्वीकार नगरीएको स्पष्टिकरण दिंदादिंदा नेताहरु हैरान भएका छन् । एउटा सामान्य भारतीय जासुस कर्मचारीसंगको भेटको विषयमा देशका ठुला भनिएका नेताहरुलाई मुझेर समाचारहरु आइरहदा उनीहरुलाई टाउको दुखाइको विषय बनेको छ ।
देशका कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीले गोयललाई बालुवाटारमा सुटुक्क भेटेको समाचारमा कुनै सत्यता नभएको भनेर सरकारका प्रवक्ताले स्पष्टिकरण दिइसकेका छन् । यसैबीच पूर्व राजा ज्ञानेन्द्रले पनि गोयललाई नभेटेको उनका निजी सचिवले विज्ञप्तिमार्फत बताएका छन् ।
यस्ता कपोलकल्पित, मनगढन्त र राष्ट्रको गरिमा घटाउने समाचारहरूले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार संप्रेषण गरेर पत्रकारिताको धर्म र समाज प्रतिको दायित्व नबिर्सन पूर्व राजाका सचिव फणिराज पाठकले सचेत समेत गराएका छन् ।