नेपाललाई जितका लागि ८४ रनको लक्ष्य

८ साउन, काठमाडौं । टी-२० वर्ल्डकप एसिया फाइनलमा नेपाललाई जितको लागि ८४ रन को लक्ष्य मिलेको छ । मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको हो ।

टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। टस हुनु अगाडि नै लगातार वर्षा भएपछि खेल ढिला गरी सुरु भएको छ भने खेल ९ ओभरमा झारिएको थियो ।

ब्याटिङको निम्तो पाएको मलेसियाले पहिलो ओभरमा नै दुई विकेट गुमाएको थियो । तर, मलेसियाका मध्यक्रमका ब्याट्सम्यानले समालिएर खेलेपछि उच्च स्कोर बनाएको हो ।

मलेसियाको लागि सयद अजिजले सर्वाधिक ३० रन बनाए जुन क्रममा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै भिरनदिप सिंहले १७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २१ रन बनाए। अन्य मलेसिया ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालको बलिंगमा सोमपाल कामिले सर्वाधिक ३ विकेट लिने जुन क्रममा २ ओभरमा २३ रन खर्चिए। यस्तै बसन्त रेग्मीले १ ओभर बलिंग गर्दै ९ रन खर्चेर २ विकेट लिए। सन्दिप लामिछाने ( २-०-१७-१ ) र करन केसी ( २-०-१२-१ ) ले १/१ विकेट लिए।

खेलमा पारस खड्का ढाडको नसा च्यापीएको कारण खेलेका छैनन्। ललित राजबंशीलाई पनि बाहिर राखिएको छ। प्रदिप ऐरी र रोहित पौडेल आज खेलीरहेका छन्।

पहिलो खेलमा नेपाल कतारसंग पराजित भएको हुँदा आजको खेलमा जित्दै २ अंक प्राप्त गर्नु नेपालको लागि टि-२० विश्वप ग्लोबल छनौट पुग्न महत्वपूर्ण रहेको छ। मलेसियाले यस अघि आफ्नो पहिलो खेलमा कुवेतलाई पराजित गरिसकेको छ।

Loading...