नेकपाका उपत्यका इन्चार्ज एवं चर्चित कलाकार माइला लामा जेल चलान

७ साउन, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका ब्यूरो इन्चार्ज एवं चर्चित कलाकार माइला लामा जेल चलान भएका छन् ।

शनिवार मध्यराति काठमाडौंको काँडाघारीबाट पक्राउ परेका उनलाई प्रहरीले मंगलवार ललितपुर जिल्ला अदालतमा पेश गरेको थियो । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।

हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत लगिएका लामालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो ।

काठमाडौंको काँडाघारीबाट राति साढे १२ बजे लामालाई पक्राउ गरिएको थियो । उनलाई नख्खुस्थित एनसेल टावरमा विष्फोट गराएको, उपत्यकाका विभिन्न स्थानमा बम विष्फोट गराएको लगायतका अभियोगमा मुद्धा अघि बढाइएको छ ।

अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि लामालाई नख्खु कारागारमा लगिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिए ।

यसअघि पक्राउ परेका विप्लव समूहका अर्का नेता हेमन्त प्रकाश ओली पनि नख्खु जेलमै छन् ।

माओवादी जनयुद्धको सुरुवातदेखि नै पार्टीमा सक्रिय लामा जनयुद्धकालमै गम्भीर घाइते भएका थिए । उनी अहिले पनि राम्रोसँग आँखा देख्न र कान सुन्न सक्दैनन । लामालाई लामो समयदेखि प्रहरीले विप्लव माओवादीका नेता मध्ये सर्वाधिक खोजिको सूचीमा राखेको थियो ।

लामा २०६४ को संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ९ बाट उम्मेदवार भई झिनो मतले पराजित भएका थिए ।

Loading...