घाटमा पुर्याइएकी महिला जुरक्क उठेपछि अस्पतालमा भर्ना !

७ साउन, पाल्पा । अन्तिम संस्कारका लागि चितामा सुताइएको मान्छे अचानक उठे के होला ? मलामीहरुको हालत कस्तो होला ?

यस्तै घटना भएको छ पाल्पामा । अन्तिम संस्कारको लागि घाटमा लगिएकी एक महिला उठेपछि घाटबाट सिधै अस्पताल लगेर उपचार सुरु भएको छ ।

अन्तिम संस्कारका लागि भन्दै घाट पुर्याइएकी रैनादेवी गाँउपालिका–१, सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवाली चितामा चलमलाएपछि अहिले लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भइरहेको छ ।

तानसेनकै युनाइटेड मिशन अस्पतालमा १० दिनसम्म उपचार भएको ज्ञवालीलाई आफन्तकै आग्रहमा अस्पतालले सोमबार दिउँसो अक्सिजन लगाएर डिस्चार्ज गरिदिएको थियो ।

घरमा पुर्याइएकी ज्ञवालीको अक्सिजन निकालेको आधा घण्टापछि नै ज्यान गएको हल्ला चलेको थियो । त्यसपछि बिरामीका आफन्तले नर्मतालाई सिधै रिँडी घाट पुर्‍याएका थिए ।

घाटमा चितामा राख्नुअघि आधा शरीर पानीमा डुबाएको केही समयपछि बिरामी चल्न र कराउन थालेपछि तत्कालै गुल्मीको रिँडी प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो । स्वास्थ्यकर्मीले धड्कन र नाडी चलेकाले थप उपचारका लागि अर्को अस्पताल लग्न सुझाब दिएपछि उनलाई सोमबार बेलुकी लुम्बिनी मेडिकल कलेज प्रभासमा भर्ना गरी नर्मताको उपचार भइरहेको छ ।

झाडापखालाकी बिरामी ज्ञवालीलाई मुटुको समस्या देखिएको थियो । मुटुको बिरामी भएको थाहा भएपछि ‘पैसाको अभाव छ’ भन्दै आफन्तले बिरामीलाई डिस्चार्ज गर्न दबाब दिएको मिशन अस्पताल तानसेनले जनाएको छ ।

अस्पतालकै एम्बुलेन्समा अक्सिजन लगाएर बिरामीलाई घर पठाएको अस्पतालको प्रतिक्रिया छ । मिशन अस्पतालका अनुसार उनका श्रीमान सूर्यचन्द्र कँडेल, छिमेकी भानुभक्त भट्टराई, ओम पौडेल र थानेश्वर कँडेलले अस्पतालबाट बिरामी बुझेका थिए ।

युनाइटेड मिशन अस्पतालमा १० दिनसम्म उपचार गर्दा ७३ हजार ६ सय ७८ रुपैयाँ खर्च भएको र खर्चमध्ये ५६ हजार ९ सय ६३ रुपैयाँ स्वास्थ्य बीमाबाट काटिएको अस्पतालले जनाएको छ ।

Loading...