सहस्राब्दी पदमार्गमा सन् २०२० मा ५० हजार पदयात्री

पोखरा, ७ साउन । तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको सहस्राब्दी पदमार्ग मिलेनियम ट्रेकमा सन् २०२० मा न्यूनतम ५० हजार पदयात्री हिँडाउने लक्ष्यका साथ काम थालिएको छ ।

नेपाल सरकारद्वारा घोषित ‘भिजिट नेपाल २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेका अवस्थामा मिलेनियम ट्रेक व्यवस्थापन समितिले उक्त लक्ष्य सार्वजनिक गर्दै पूर्वाधार निर्माणलगायतमा सक्रिय बनेको हो । गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्ष २०१९ र भिजिट नेपाल २०२० लाई सफल पार्ने योजनाअनुरुप लक्ष्य सार्वजनिक गर्दै आफूहरू अघि बढेको समितिका महासचिव हर्क गुरुङले बताए।

सहस्राब्दी पदमार्गको समग्र विकास एवं प्रवद्र्धनलाई लक्षित गरी बृहत् गुरुयोजना निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाइसकिएको उनले जानकारी दिए । गुरुयोजनामा पदमार्ग क्षेत्रका पर्यटकीय सम्पदाको पहिचान गर्दै धार्मिक, ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षण र विकासका साथै पदमार्ग क्षेत्रमा पर्ने रक गार्डेन, चरा पर्यटनका सम्भावना, मिलेनियम गुफा, थुम्काथुम्कीलगायतको संरक्षण र उपयोग गर्नुपर्नेमा जोड दिइएको छ ।

समितिले पदयात्रा पर्यटनको विकासका लागि उत्पादन हुने क्षेत्रको पहिचान गर्दै कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्य राखेको छ । लक्ष्य सार्वजनिकसँगै पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखिएको बताउँदै महासचिव गुरुङले यसबीचमा विभिन्न स्थानमा अत्यावश्यकीय पूर्वाधार निर्माण भइसकेको जानकारी दिए ।

“पहिलो चरणमा पदमार्गअन्तर्गतका आवतजावत गर्न असहज हुने ठाउँमा बाटो निर्माण एवं ममर्तलाई प्राथमिकतामा राखिएको छ”, उनले भने, “आर्थिक वर्ष २०७५÷७६ मा तनहुँको दुलेगौँडाबाट स्याङ्जाको बुढाकोटसम्मका पदमार्गका अप्ठेरा बाटो मर्मत गरिसकेका छौँ ।” समितिले यस अवधिमा पदमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१० को रजस्थल सामुदायिक घरवासबाट ढोर मूलकोट दरबार जाने ३०० मिटर सिँढी बाटो रु तीन लाख ५० हजारको लागतमा सम्पन्न गरिसकेको छ ।

त्यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ मिनेनियम गुफाबाट स्याङ्जाको पुतलीबजार नगरपालिका–७ सादीखोला ‘होमस्टे’ जाने ६०० मिटर लम्बाइको सिँढी बाटो रु नौ लाख ५० हजार लागतमा निर्माण गरिएको छ । समितिले पुतलीबजार नगरपालिका–२ भैंसेगौँडामा ३०० मिटर लम्बाइको ढलान सिँढी बाटो रु तीन लाख ५० हजार लागतमा निर्माण गरेको छ भने पुतलीबजार नगरपालिका–१२ मा नकचु महादेव पञ्चमुखी धाम जाने प्रवेशद्वार, प्रतीक्षालय, शौचालयका साथै २५० मिटर लम्बाइको सिँढी बाटो रु पाँच लाख ५० हजारको लागतमा निर्माण गरिएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–३ माझकोटबाट बुढाकोट जाने ३५० मिटर लम्बाइको सिँढी बाटो रु पाँच लाखको लागतमा निर्माण गरिएको उनले जानकारी दिए। आगामी आव २०७६÷७७ मा बुढाकोटबाट पदमार्गको अन्तिम गन्तव्य बिन्दु रामबाछासम्मका अप्ठेरा बाटा एवं आवश्यक पूर्वाधार निर्माण गरिने योजना रहेको उनले जानकारी दिए ।

Loading...