‘अरुण थापाको सम्झनामा…. ‘

बागलुङ, ७ साउन । ‘जति माया लाए पनि…’ मधुरो गुञ्जिरह्यो । सङ्गीतप्रेमी झुमिरहे । प्रेक्षालयमा छिनमै गहिरो मौनता छाउँथ्यो । घरी वाहीवाही चल्थ्यो । आइतबारको छिप्पिँदो साँझ बागलुङका लागि भिन्न बन्यो ।

साउन ५ गायक अरुण थापाको स्मृति दिवस । बागलुङमा यसपालि मुर्चुङ्गा कलाकार समूहले अरुणलाई सम्झियो । समूहले २०औँ स्मृति दिवस पारेर ‘अरुण स्मृति साँझ’ को तारतम्य मिलाएको थियो । आफ्ना प्रिय गायकको सम्झनामा गायक किशोर थापा, प्रेम बुढा, हुमन थापालगायत मञ्चमा थिए ।

वाद्यवादनमा पोखरादेखि आएका विनोद गुरुङ (गितार), मनोज बाँस्तोला (किबोर्ड) र गुप्त गुरुङ (अक्टोप्याड) ले सघाए । गायक किशोर थापाले अरुणका लोकप्रिय गीत ‘ऋतुहरुमा तिमी’, ‘दोष कसैलाई दिन चाहन्नँ’, ‘चोट के हो व्यथा के हो’ लगायत गाए । प्रेम बुढा र हुमनले ‘जति माया लाए पनि’ युगल गाए । सामूहिक गायनमा ‘करोडौँ मुटुहरुको’ गुञ्जिँदा दर्शकदीर्घाले पनि सँगै गुन्गुनाए । अरुणका दर्जन बढी चर्चित गीत कार्यक्रममा प्रस्तुत भए ।

गायक अरुण थापाको सम्मानमा स्मृति साँझको आयोजना गरिएको समूहका अध्यक्ष किशोर थापाले बताए । “अरुण थापा नेपाली सङ्गीत क्षेत्रको विशिष्ट प्रतिभा हुनुहुन्छ”, उनले भने, “उहाँको व्यक्तित्व र योगदानलाई चिरस्थायी बनाउनुपर्छ ।” अरुणले विसं २०३४ मा गाएको ‘ऋतुहरुमा तिमी हरियाली वसन्त हाँ’ बिबीसीले गरेको सर्वेक्षणमा विश्वका उत्कृष्ट १० गीतमध्ये सातौँ स्थानमा पर्न सफल थियो ।

नेपाली सुगम सङ्गीतलाई विश्वजगत्मा चिनारी गराउने श्रेय पनि गायक अरुणलाई जान्छ । विसं २००९ माघ ११ गते जन्मनुभएका अरुणको २०५६ साउन ५ मा निधन भएको थियो । ४७ वर्षको छोटो आयु बाँचे पनि अरुणले नेपाली समाजलाई कालजयी गीत दिनुभएको छ ।

विगतमा नेपाल मगर विद्यार्थी सङ्घले ‘अरुण स्मृति साँझ’ को आयोजना गर्ने गरे पनि यो वर्ष पहिलोपटक समूहले गरेको हो । स्मृति साँझका प्रमुख अतिथि नेपाल मगर सङ्घका केन्द्रीय सदस्य एवं तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले राज्यले अरुणलाई सम्मान गर्न नसकेको गुनासो गरे ।

“अरुण थापा त देशकै पहिचानका रूपमा हुनुहुन्छ”, उनले भने, “राज्यका तहबाटै उहाँको सम्झना गरिनुपथ्र्यो, बिडम्बना त्यो हुनसकेको छैन ।” विगतदेखि नै मगर समुदायले विशेषरूपमा अरुण थापाको स्मृति दिवस मनाउँदै आएका छन् ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागलुङका अध्यक्ष सङ्गम घर्तीमगरले अरुण थापाको जीवनीबारे प्रकाश पारेका थिए ।

“नयाँ पुस्तामाझ अरुण थापालाई चिनाउनु पनि कार्यक्रमको उद्देश्य हो”, उनले भने । अरुणले विसं २०३२ मा रेडियो नेपालमा स्वरपरीक्षा उत्र्तीण गरेपछि आश्विन गुरुङको रचना र ओमविक्रम विष्टको सङ्गीतमा ‘कतै टाढा तिमीबाट पुगेँ भने सम्झेर नरुने ठूलो छ संसार’ बोलको गीत ‘रेकर्ड’ गगराएका थिए ।

उनको पहिलो गीतले सोचेजति सफलता पाउन सकेन । विसं २०३४ को अन्त्यतिर गाएको ‘ऋतुहरुमा तिमी’ र २०३६ मा सार्वजनिक ‘जति माया लाए पनि’ बोलको गीतले अरुण थापालाई एकाएक चर्चामा ल्याएको थियो ।

Loading...