७ साउन, काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी(ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपाल र कतारबीचको खेल अहिले जारी छ ।
टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि कतारले अहिले बलिङ गरिरहेको छ । नेपालको ओपनिङ जोडीको रुपमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल क्रिजमा आएका छन् । आज उपाधि दाबेदार नेपाल कतारलाई पराजित गर्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।
आईसीसी वरियता हेर्दा नेपालले कतारलाई सहजै हराउने देखिएको छ । तर, कतारविरुद्ध नेपाल शतर्क भएर खेल्ने कप्तान पारस खड्काले बताएका छन् । सोमबार भएको पहिलो खेलमा कतार सिंगापुरसँग पराजित भएको थियो ।
जुलाई ९ देखि २० सम्म मलेसियामा अभ्यास गरेको नेपाली टोलीका लागि कतारसँगको खेल तुलनात्मक रुपमा सहज हुनेछ । सिंगापुरमा रहँदा नेपाली टोलीले आफ्नो ‘पर्फमेन्स’ सुधारमा समेत ध्याान दिने कप्तान खड्काले बताइसकेका छन् ।
मध्ये क्रमलाई सम्हालिइर खेल्दै नेपाललाई जीत दिलाउन महत्वपूर्ण भूमिका खेल्दै आएका कप्तान खड्का ओपनिङमा आएपछि नेपाली टोलीको यसअघिदेखिको ओपनिङ समस्या नदोहोरिने अनुमान लगाइएको छ । यसअद्धि नेपालले कतारसँग ६ पटक प्रतिस्पर्धा गरेको छ । जसमा ४ एकदिवसीय र २ टी– ट्वान्टी खेल छन् ।
४ एकदिवसीयमा ३ पटक नेपालले जितेको छ भने कतारले १ खेलमा जित निकालेको छ । यस्तै टी–ट्वान्टीमा नेपालले १ र कतारले १ खेल जितेको छ । पहिलो पटक नेपाल र कतार सन् २००१ को आईसीसी ट्रफीमा प्रतिस्पर्धा गरेको थियो ।