चितवनको बालगृहबाट ३६५ जनालाई हेलिकप्टरबाट उद्धार

चितवन, ३० साउन । पश्चिम चितवनको जगतपुरमा रहेको आशा बालगृहमा राप्तीको बाढी पसेपछि त्यहाँ रहेका विद्यार्थी, शिक्षक र कर्मचारीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

बालगृहलाई बीचमा पारेर राप्तीको भङ्गालो बगेपछि त्यहाँ ३६५ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । उनीहरुलाई नजिकै रहेको गौरचनको विद्यालयमा राखिएको छ ।

बालगृह भवनको पहिलो तला पानीले भरिएपछि उनीहरु दोस्रो, तेस्रो तला र छतमा बसेका थिए । सो स्थानमा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह, प्रजिअ भट्टलगायत सुरक्षा निकायका प्रमुख पुगेपछि हेलिकप्टर मगाएर उद्धार गरिएको हो ।

यसअघि २०५९ सालमा बाढी आउँदासमेत सो बालगृह डुबानमा परेको थियो ।

यस्तै चितवन राष्ट्रिय निकुञ्जका १५ वटा सुरक्षा पोस्टमा बाढी पसेपछि त्यहाँ रहेका सुरक्षाकर्मी र निकुञ्जका कर्मचारीलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार भीमपुर, कछुवानी, जर्नेली, सुकिभार, ध्रुव, घडगाई र बाघमारालगायतका पोस्ट बाढीले डुबानमा परेका छन् । निकुञ्जमा ५७ वटा पोस्ट रहेका छन् ।

निकुञ्ज हुँदै बग्ने खोलाको पानी राप्ती नदीको पानीले ठेलिएपछि पोस्टहरु डुबानमा परेका हुन् । त्यसैगरी निकुञ्जका वन्यजन्तु समेत बाढीले बगाएको अर्यालले बताए । यद्यपि बाढीले बगाएको जनावरको एकिन तथ्यांक भने आउन सकेको छैन ।

Loading...