जंगली च्याउ खाँदा तीन परिवारका १२ जना बिरामी

उदयपुर, ५ साउन । जंगली च्याउ खाँदा उदयपुरमा १२ जना विरामी भएका छन् । उदयपुरका २ छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर ३ परिवारका १२ जना बिरामी भएका हुन् । त्रियुगा नगरपालिका–९ राजावासमा १ परिवारका ५ जना र कटारी नगरपालिका–४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन् ।

शनिबार दिउँसो १ बजेको समयमा जंगली विषालु च्याउ खाएर राजावासका ४० वर्षीय चित्रबहादुर दनुवार, निजकी श्रीमती ३८ वर्षीया फुलमाया दनुवार, निजका छोरा वर्ष २० का अनिश दनुवार, ११ वर्षीय मनिस दनुवार र १७ वर्षीया छोरी रविना दनुवार बिरामी परेका हुन् ।

यसैगरी कटारी सिसाघारीकी ३५ वर्षीया टंक कुमारी दनुवारले जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा उनीसहित निजका छोराहरु १४ वर्षीय अनिष दनुवार र ११ वर्षीय महेन्द्र दनुवार तथा ९ वर्षीया छोरी सुजिता दनुवार बिरामी भएका छन् ।

उनका छिमेकी वर्ष २० की गंगा कुमारी तामाङ, वर्ष १९ की लक्ष्मी तामाङ र वर्ष १७ की समिता तामाङसमेत बिरामी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । निजहरु सबै जनाको विराटनगरको नोवेल अस्पतालमा उपचार भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Loading...