गुठीको जग्गा हडपेर बनाउन थालिएको भवनको जगै समेत भत्काए स्थानीयले (भिडियो सहित)

महानगरका वडाअध्यक्ष बोल्दाबोल्दै नारावाजी, विरोध भएपछि कार्यक्रमबाट निस्के वडाअध्यक्ष

काठमाडौं, ४ साउन । काठमाडौंको पचली भैरवमा स्थानीयको गुठी हडपेर बनाउन थालिएको भवन संरचना स्थानीयवासीले भत्काइदिएका छन् । पचली भैरवको बागमती किनारमा रहेको महेन्द्र सरस्वति सामुदायिक विद्यालय अगाडि रहेको निजी गुठीको जग्गा हडपेर केही व्यक्तिले नक्सा नै पास नगरी भवन संरचना बनाउन लागेका थिए ।

शनिवार बिहान ८ बजे पचली भैरव गुठीका परिवारले नेवार समुदायको सहयोगमा उक्त संरचना भत्काएर हटाएका हुन् । उक्त ठाउँमा केही जनप्रतिनिधिहरुकै सम्लग्नतामा भवन बन्न लागेको थियो । अहिलेका लागि विद्यालयले प्रयोग गर्ने गरी भवन बनाउन लागेको भनिए पनि अन्ततः त्यो जग्गा दलालहरुले बेच्न लागेको गुठियारहरुको भनाई छ ।

महानगरका मेयरदेखि जनप्रतिनिधि र प्रशासनलाई धेरै पटक खबर गरी सहयोग मागिए पनि कुनै सुनुवाई नभएपछि गुठियारले आफ्नो समुदायसँग सहयोग मागेर त्यहाँ बन्न लागेको संरचना तोडफोड, आगजनी गरी हटाएका हुन् । गुठीका सदस्य परिवारले त्यहाँ भवन बनाउने भनेर खनिएको जग, त्यसमा भवनको फाउन्डेसन, पिलर उठाउन लगाइएका रडहरु सबै भत्काएका छन् । पिलरका लागि उठाइएका रडहरु सबै मेसिन लगाएर काटेका छन् ।

गुठिका सदस्यहरुले शनिवार स्थानीय समुदाय, नेवार समुदायका अधिकारकर्मीहरु, अन्य गुठीका सदस्यहरु सबैलाई बोलाएर भवन बनाउन लागिएको ठाउँमा कार्यक्रम गरेका थिए । कार्यक्रममा नेवार समुदाय भित्रका गुठी, सम्पदा प्रेमी र समुदायको अधिकारका लागि काम गरिरहेकाहरु सबै जम्मा भएका थिए ।

कार्यक्रममा सबै समुदायका प्रतिनिधि र अगुवाहरुले आ–आफ्नो धारणा राखे । गुठीको जग्गा हडप्न भूमिमाफियाहरु कसरी लागेका छन भन्ने बारे सबैले बताए । उनीहरुले समुदायलाई जागरुक हुन आह्वान पनि गरे । उनीहरु समुदायले सयौ वर्षदेखि संरक्षण गर्दै आएका गुठी र अन्य सार्वजनिक सम्पतिहरु पनि नष्ट गर्न कदापी नदिने बताए । उनीहरुले त्यसका लागि सबै समुदाय सचेत हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा काठमाडौं महानगर पालिका वार्ड नं. १२ का वडा अध्यक्ष विकास डंगोललाई पनि बोलाइएको थियो । सबैले कुरा राखेपछि अन्तिममा बोल्न लगाइएका वडा अध्यक्ष डंगोलले स्थानीयको भावना र आवाज विपरित आफ्ना व्यक्तिगत कुरा गर्न थालेपछि त्यहाँको माहोल तातियो । त्यसपछि कार्यक्रममा उपस्थित भएका सहभागीहरुले डंगोललाई सम्बन्धित विषयमा कुरा राख्न भन्दै केहीबेर होहल्ला पनि गरे । त्यसपछि पनि उनले कुरा छोएनन । उपस्थित समुदायले डंगोललाई खास विषयका बारेमा किन धारणा नराखेको भन्दै दवाव पनि दिए । केहीबेर सामान्य नारावाजी पनि भयो । तर, पनि उनले सो विषयमा धारणा दिन मानेनन् । स्थानीयले विरोध गरेपछि उनी आफ्नो भनाई टुंग्याएर कार्यक्रमस्थलबाट हिडे ।

त्यसपछि आक्रोशित भएका समुदायले नजिकै रहेको पचली भैरव गुठीको जग्गामा बनाउन थालिएको संरचना तोडफोड गर्न थाले । त्यहाँ बनाउन थालिएको भवनको लागि ठड्याउन थालिएका पिलर, रड र इट्टाका फाउन्डेसन सबै भत्काए । पिलरका लागि लगाइएका रडहरु मेसिन लगाएर काटे । कार्यक्रमस्थलमा प्रहरी आए पनि प्रहरीले केही गर्न सक्ने अवस्था थिएन । प्रहरीले पनि स्थानीयको विरोधमा कुनै प्रतिक्रिया जनाएन ।

पचली भैरवमा रहेको महेन्द्र सरस्वति सामुदायक विद्यालयका प्रधानाध्यापकले महानगरपालिकाका मेयर र वडा अध्यक्षले नै स्वीकृति दिएर उनीहरुकै छलफलपछि त्यहाँ संरचना बनाउन सुरु गरेको बताउँछन् । तर, उनी आफूसँग कुनै लिखित स्वीकृति पत्र भने नभएको बताउँछन् । गुठीयारहरुले भने यो सबै षडयन्त्रपूर्वक आफ्ना पुर्खाहरुले आर्जेको गुठीको जग्गा हडप्ने दाउ रहेको बताउँछन् । पचली भैरव गुठीका गुठियारहरु उक्त जग्गाको लालपुर्जा गुठीका सदस्यहरुको नाममा रहेको छ । तर, जग्गाधनी गुठियारहरुसँग पनि कुनै छलफल र जानकारी नै नदिई जवरजस्त भवन संरचना बनाइनुले यसमा ठूलै शक्तिको संरक्षण रहेको पनि उनीहरु बताउँछन् ।

हाल भवन बनाउन थालिएको ठाउँमा पहिला पोखरी रहेको थियो । तर, अहिले त्यहाँ पोखरी छैन । त्यो पोखरी सुकेपछि विद्यालयले बालबच्चालाई खेल्ने चौरका रुपमा उक्त पोखरी क्षेत्र उपयोग गरेको थियो । गुठियारहरुले पनि विद्यालयले बालबच्चाका लागि खेल्ने चौरका रुपमा प्रयोग गरेका कारण केही भनेका थिएनन । तर, अहिले गुठियारसँग कुनै सोधपुछ नै नगरी पक्की भवन संरचना बनाउन थालिएपछि उनीहरु विरोधमा उत्रेका हुन् ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा रहेका सार्वजनिक जग्गा, गुठीका जग्गाहरु मिच्ने, नक्कली कागजात बनाएर यसैगरी हडप्ने र बिक्री गर्ने काम भइरहेको छ । यस्तो काममा राजनीतिक नेताहरु पनि सम्लग्न रहेको बेलाबेलामा चर्चा आउने गरेको छ । काठमाडौंको बालुवाटार, खुलामञ्च, ठमेलको छाया कम्प्लेक्स लगायत ठाउँमा सार्वजनिक र गुठीका जग्गाहरु बेचिएका छन् ।

यसअघि पचली भैरव गुठीका गुठियारहरु वडा अध्यक्षदेखि काठमाडौंं महागरपालिकाका मेयरसँग पनि पुगेका थिए । उनीहरुले यसरी निजी गुठी र सार्वजनिक सम्पतिमाथि हस्तक्षेप गरिएको भन्दै पहल गर्न अनुरोध पनि गरेका थिए । तर, उनीहरुले यसबारे खासै चासो नदेखाएको गुठियारको भनाई छ । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, १२ नम्बर वडाका अध्यक्ष विकास डंगोल लगायतले यसमा केही पनि पहल नगर्नु र स्थानीयवासीका सामु त्यस विषयमा कुनै कुरा नबोल्नुले यसमा केही रहस्य रहेको अधिकारीकर्मीहरु बताउँछन् ।

यतिसम्म पनि भयो कि एकपटक स्थानीयवासीले १२ नम्बर वडाका अध्यक्षसँग पुग्दा उनले विकास गर्न यस्ता भवनहरु बनाइएको जवाफ दिएका थिए । स्थानीयले भने विकास गर्नलाई सम्पदाहरु मास्ने, समुदायको सामूहिक हितका लागि प्रयोग हुँदै आएका जग्गा र संरचनाहरु नै बेच्नेसम्मका काम गरेर कस्तो विकास गर्न खोजेको हो भन्ने प्रश्न गरेका थिए ।

वडा अध्यक्षले त्यस खालको जवाफ दिएपछि स्थानीयवासी काठमाडौं महानगरपालिकाका अध्यक्ष विद्यासुन्दर शाक्यलाई भेटन उनकै निवासमा पुगेका थिए । उनीहरुले आफ्ना पुर्खाले आर्जेको सम्पति कदापी हडप्न नदिने भन्दै पहल गरिदिन महानगरका मेयरलाई आग्रह गरे । उनीहरुले गुठियारहरुसँग कुनै सल्लाह, सोधपुछ केही पनि नगरी, कुनै नक्सा पास पनि नगरी गुठीको जग्गामा किन भवन बनाइएको हो भन्ने ध्यानाकर्षण पनि गराए । स्थानीयको त्यो गुनासो सुने पनि मेयर शाक्यले पनि कुनै भूमिका खेलेनन । त्यसपछि गुठियारहरु नेवार समुदायका अगुवा अधिकारकर्मी सबैलाई सहयोग गरिदिन अनुरोध गरे । पछिल्लाे समय राजधानीमा नेवार समुदायकाे संस्कृतिमाथि एकपछि अर्काे गरी धमाधम हस्तक्षेप हुन थालेकाे भन्दै समुदायका अगुगाहरु चिन्तित छन् । 

हेर्नुहाेस भिडियाे

Loading...