खुर्कोट-घुर्मी सडक खुले सगै पुर्बी पहाडको यात्रा सहज

सोलुखुम्बु, ४ साउन । मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडक एक सातापछि खुलेको छ । अबिरल वर्षाको कारण असार २६ गते रातिदेखि पूर्ण रुपमा बन्द भएको सडक शुक्रबार बिहानदेखि खुलेको हो ।

करीब ६० किलोमिटर लामो यो सडकखण्डको धेरै ठाउँमा पहिरो खसेपछि आवागमन ठप्प बनेको थियो । सडकको विभिन्न ६ ठाउँको पहिरो पन्छाएपछि बिहीबार बेलुकादेखि एकतर्फी खुलाइएको बाटो शुक्रबार बिहानदेखि दुईतर्फी नै खुलेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए ।

पहिरो पन्छाएपछि सवारी आवागमन शुरु भएको यातायात व्यवसायी दोर्जी शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार शुक्रबार आंशिक रुपमा सवारी सञ्चालन भएका छन् । शनिबारदेखि पूर्णरुपमा सवारी सञ्चालन गर्ने गरि टिकट दिन शुरु गरिएको दुधकुण्ड यातायात प्रालि काठमाडाँै काउण्टरका ईन्द्र कटेलले जानकारी दिए ।

“सडक अझै पनि जोखीम युक्त छ ।” उनले भने, “सामान कम गरेर भए पनि जसोतसो सेवा दिन थालिएको छ ।” हप्ता दिनदेखि अलपत्र परेका यात्रु गन्तब्यतर्फ प्रस्थान गर्न थालेको सोलुखुम्बु ट्राफिक प्रहरी नारणबहादुर बस्नेतले जानकारी दिए ।

उहाँका अनुसार अहिले सवारी अवागमन शुरु भएसँगै यात्रुको चहलपहल देखिएको छ । सवारी आवागमन सञ्चालन भएपछि यात्रु खुसी भएका छन् । तर सडक जोखिम युक्त भएकाले अझै पनि राम्रो गरी मर्मत गरिनुपर्ने थुलुङदुधकोशी गाउँपालिका–६ का वडाध्यक्ष फुर्तिमान तामाङले बताए ।

शुक्रबार काठमाडौँबाट मोटरसाइकलमा सोलुखुम्बु आउनुभएका अध्यक्ष तामाङले अझै केही दिन कष्टपूर्ण यात्रा गर्नुपर्ने बताए । उनले मोटरसाइकल एक्लैले लैजान अलि कठिन हुने भन्दै साथीसँग यात्र गर्न आफ्नो फेसबुक पेजमार्फत सुझाव दिएका छन् ।

यता सिद्धिचरण लोकमार्ग भने केही दिन सञ्चालनमा आउन समय लाग्ने बताइएको छ । सडकखण्डको ठाँटी लगायतको क्षेत्रमा खसेको ठूलो पहिरो पन्छाउने काम भइरहेकाले चाँडै सञ्चालनमा आउने उदयपुरका प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले जानकारी दिनुभयो ।
सवारी आवागमन ठप्प हुँदा महङ्गीसमेत बढ्न थालेको छ भने सोलुुुुुुखुम्बु लगायतको जिल्लामा तरकारी लगायतको खाद्य वस्तुसमेत पाउन छाडिएको उपभोक्ताले बताएका छन् ।

Loading...