विद्यालय भवन निर्माणका लागि प्रवासीबाट नौ लाख सहयोग

बेनी, २८ साउन । बेनी नगरपालिका–३ भकिम्लीमा निर्माणाधीन विद्यालय भवनका लागि स्पेनमा रहेका भकिम्लीवासीले रु नौ लाख ३७ हजार सहयोग गरेका छन् ।

जयन्ती माविको निर्माणाधीन ३० कोठे भवनका लागि स्पेनको बार्सिलोनामा रहेका भकिम्लीका सन्तबहादुर क्षेत्रीको संयोजकत्वमा सो रकम संकलन गरिएको हो ।

विद्यालय निर्माणका लागि स्पेनमा रहेका भकिम्लीवासी तथा अन्य नेपालीले पनि आर्थिक सहयोग गरेका संयोजक क्षेत्रीलाई उदद्धृत गर्दै जयन्ती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले जानकारी दिए ।

करिब तीन करोडको लागत लाग्ने निर्माणाधीन विद्यालय भवनका लागि जिल्ला शिक्षा कार्यालय म्याग्दीले १९ लाख ५० हजार आर्थिक सहयोग गरेको छ ।

जिल्ला शिक्षाले उपलब्ध गराएको रकमबाहेक अपुग रकम स्थानीयवासीको श्रमदान, चन्दा संकलन र अन्य कार्यक्रम गरेर जुटाउने प्रयास भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुनले बताए ।

Loading...