नेकपाले भन्यो : आत्मसुरक्षाका लागि बोकेको बम धनगढीमा पड्कियो

३ असार, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले बिहीबार साँझ धनगढीको शहीद गेटमा नजिकै भएको शक्तिशाली विष्फोटको जिम्मा लिएको छ ।

शुक्रबार दिउँसो समूहको सेती–महाकाली ब्यूरो इञ्चार्ज निर्माणले एक विज्ञप्ति जारी गर्दै पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ पड्किएको स्पष्ट पारेका हुन् । विज्ञप्तिमा पार्टीका रामबहादुर सिंह ‘राजेश’ ले सहादत प्राप्त गरेको पनि स्वीकारिएको छ ।

घटनामा बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डे घाइते भएका छन् । उनीहरुको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको सम्बन्धमा भने विज्ञप्तिमा केही उल्लेख गरिएको छैन ।

विज्ञप्तिमा विष्फोटमा परी घाइते भएका सर्वसाधारण नागरिकको स्वास्थ्यलाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभूति व्यक्त गरिएको छ ।

घाइतेको उचित उपचारको व्यवस्था पनि पार्टीले गर्ने प्रतिबद्धतासहित अस्पताल परिवार र उपचारमा संलग्न स्वास्थ्यकर्मीमा घाइतेको उपचारमा कुनै पनि कमी हुन नदिन पार्टीले विज्ञप्ति मार्फत विनम्र अनुरोध गरिएको छ ।

साथै, घटनाको मुलकारण ‘दलाल पुँजीवादी संसदीय व्यवस्था’ भएको पनि पार्टीले दाबी गरेको छ ।

Loading...