चिनियाँ साहित्य, सभ्यता र इतिहासको ज्ञान आवश्यक : विजुक्छे

भक्तपुर, २ साउन । नेपाल मजदुर किसान पार्टीको किल्लाका रुपमा पनि परिचित भक्तपुर नगरपालिकाले निशुल्क चिनियाँ भाषाको प्रशिक्षण शुरु गरेको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बुधबार एक कार्यक्रमका बीच उक्त भाषा कक्षाको उद्घाटन समेत गरेका छन् ।

कम्युनिष्ट देश चीनको भाषा पढाउनुको पछाडी कुनै राजनीतिक स्वार्थ वा चीन मोह मात्र नभएको नगरपालिकाले जनाएको छ । भक्तपुरमा आउने चिनियाँ पर्यटकलाई मध्यनजर गर्दै चिनियाँ भाषाको प्रशिक्षण शुरु गरिएको नगरपालिकाको दावी छ ।

कार्यक्रममा अध्यक्ष बिजुक्छेले चिनियाँ पर्यटकको बसाइ लम्ब्याउन भाषा कक्षाले भूमिका खेल्ने विस्वास व्यक्त गरे । पर्यटन व्यवसायलाई फस्टाउन चिनियाँ भाषा तालिम र पथप्रदर्शकलगायतका तालिमहरू उपयोगी हुने बताउँदै अध्यक्ष बिजुक्छेले चिनियाँ भाषा सँगसँगै चिनियाँ साहित्य, सभ्यता र चीनको इतिहासको अध्ययनमा समेत नयाँ पुस्ताले जोड दिनुपर्ने आवश्यकता औल्याए ।

चिनियाँ भाषा हेर्दा जटिल जस्तो भएपनि सिक्दै जाँदा सरल भाषा भएकोले यसको ज्ञानसंगै चिनियाँ साहित्य, सभ्यता र इतिहासको ज्ञान समेत हासिल गर्न सकिने अध्यक्ष विजुक्छेले बताए । उनले नयाँ पुस्ताको व्यक्तित्व विकास गर्न यसले सहयोगी भूमिका खेल्ने उल्लेख गरे ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका युवा पुस्तालाई रचनात्मक गतिविधिमा संलग्न गराउने उद्देश्यले विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको जानकारी गराएका थिए भने उपप्रमुख रजनी जोशीले आफूले सिकेको तालिम र सीपमार्फत आफू परिष्कृत हुने र समाजको लागि योगदान पुर्या‌उने ढंगले काम गर्न अभिप्रेरित गरेकी थिइन् ।

उक्त अवसरमा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, कार्यपालिका सदस्य तथा तालिम संयोजक रोशनमैया सुवाल र वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले लगायतले प्रशिक्षणको औचित्वबारे प्रस्ट पारेका थिए । भाषा कक्षासंगै पाक शिक्षा सिकाइने कक्षा पनि शुरु भएको बताइएको छ ।

भक्तपुर नगरपालिकाले स्थानीय सरकारको तर्फबाट युवाहरूलाई सीपमूलक तालिम संचालन गर्दै आइरहेको छ ।यस अघि फोटोग्राफी, कृषि प्राविधिक तालिम, लिपि, सिलाइ, काष्ठकला, कपाल काट्ने, पथप्रदर्शक तथा रेडियो प्रस्तोता लगायतका विभिन्न तालिम संचालन भैसकेका छन् । युवालाई उत्तरदायी र सक्षम बनाउने उदेश्यले यस्ता तालिम संचालन गर्दै आएको नगर प्रमुख सुनिल प्रजापतिले बताएका छन् ।

Loading...