जापानकाे हिराेसिमा नागासाकीमा बम आक्रमणको ७२ वर्ष स्मरण

टोक्यो, २५ साउन । सन् १९४५ मा जापानको नागासाकीमा अमेरिकाले एटम बम खसाली दशौँ हजार नागरिकको ज्यान लिएको आज ७२ बर्ष पुगेको दुःखद स्मरण गरिएको छ ।

जापानको नागासाकीमा सन् १९४५ को अगष्ट ९ मा एटमिक बमको आक्रमणबाट भएको नरसंहारको बुधबार सो नगरमा विशेष समारोहको आयोजना गरी स्मरण गरिएको समाचारमा जनाइएको छ ।

यसअघि गत आइतबार अर्थात् अगष्ट ६ मा हिरोसीमा नगरमा पनि जम्मा भएका दशौँ हजारको सङ्ख्याका नागरिकले सो आक्रमणको स्मरणगर्दै त्यस नरसंहारमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

दोस्रो विश्व युद्धका समयमा अमेरिकाबाट हिरोसिमामा भएको त्यस हमलामा परी कम्तीमा पनि एक लाख ४० हजार नागरिकको ज्यान गएको थियो । त्यस्तै नागासाकीमा भएको बम आक्रमणमा परी ज्यान जानेको सङ्ख्या ७५ हजार रहेको बताइएको छ ।

एटम बमको विकीरणका कारण घटनास्थलमा नै ती नागरिकको ज्यान गएको थियो भने अरु कैयौँ घाइते भएर बाँचेका थिए । उनीहरुले निकै पछिसम्म पनि स्वास्थ्य र शारीरिक जटिलताको समस्या झेलेर बसेका थिए ।

नागासाकी र हिरोसिमामा भएका ती बम हमलाको ७२ वर्ष पूरा भएको छ । नागासाकी नगरमा बम खसालिएको स्थानमा प्रत्येक वर्ष आजकै दिन दशौँ हजार नागरिक जम्मा हुन्छन् र शान्तिको कामना गर्ने गर्दछन् ।

हिरोसीमामा जस्तै नागासाकीमा पनि बम खसालिएको स्थानमा शान्ति स्तुपा निर्माण गरिएको छ । उक्त स्तुपामा जम्मा भएका नागरिकले संसारमा फेरि यस्तो कहिल्यै नहोस भनेर कामना गर्ने गर्दछन् ।

हिरोसिमा र नागासाकीमा भएको हमलामा जीवित रहेका केही नागरिक अहिले पनि छन् । उनीहरु पनि आजको उक्त वार्षिकी कार्यक्रममा उपस्थित भएर आफ्ना अनुभव व्यक्त गर्ने गर्छन् ।

सो वार्षिकीमा बुधबार नागासाकीमा दशौँ हजार नागरिक जम्मा भएका छन् । त्यहाँ संसारका अरु देशका प्रतिनिधि पनि जाने गर्दछन् ।

सो समारोहलाई बुधबार सम्बोधन गर्दै नागासाकी नगरका मेयर तोमिहिसा ताउले भने– बमरहित संसारको निर्माण जापानको मुख्य उद्देश्य हुनुपर्छ र त्यसका लागि हामी जेजस्तो संघर्ष पनि गर्नुपर्छ ।

परमाणु हतियारको उत्पादनमा निषेध गर्ने विश्वव्यापी नीतिमा जापानले अगुवाई गर्नुपर्ने उनको धारणा थियो । उनले शान्तिका लागि संसारले कामना गर्न सकेमात्र अब फेरि हिरोसिमा र नागासाकी जस्ता नरसंहार नदोहोरिने स्पष्ट गरेको समाचारमा जनाइएको छ ।

Loading...